Logo
Logo

नेपाली समाजका शत्रु

एसियामा भारत र जापान अमेरिकाको भरपर्दो शक्ति


डा. दीपेश केसी

4.7k
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको भेटपछि संयुक्त पत्रकार भेटमा बङ्गलादेशको पछिल्लो घटनाका बारेमा अमेरिकाको धारणाबारे पत्रकारले प्रश्न सोधे । उत्तरमा ट्रम्पले त्यो विषय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई छाड्ने उत्तर दिए ।

ट्रम्पले क्षेत्रीय शक्तिमार्फत आफ्नो रणनीति बढाउने गरी कदम चालिरहँदा यो अभिव्यक्ति दिए । एसियामा भारत र जापान अमेरिकाको भरपर्दो शक्ति हो भन्ने कूटनीतिक सन्देश पनि दिइसके ट्रम्पले यी दुई देशका नेतालाई भेटेर । उनले दोस्रोपटक राष्ट्रपति बनेपछि पहिलो भेट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेटे ।

इजरायल अमेरिकाको सबैभन्दा निकट मित्र हो भन्ने सन्देश मात्र दिएनन् मध्यपूर्वमा इजरायललाई चुनौती दिने जोकसैकाविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिए । जे बोल्यो त्यही गर्ने शैलीले ट्रम्पलाई कथित उदारवादीले अराजक भन्ने गरेका छन् । उनले अमेरिकी स्वार्थलाई सर्वोपरि ठानेर जे गर्दा अमेरिकालाई लाभ हुन्छ त्यहाँ मात्र लगानी गर्ने सन्देश दिइसके ।

विश्वभर राजनीतिक र सामाजिक क्षेत्रमा दिइआएका अनुदानको उपयोगिताबारे पनि ट्रम्पले प्रश्न खडा गर्दै धमाधम रोक्का गर्न लगाइसके एलन मस्कलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी डीओजीईको जिम्मेवारी दिएर ।

आइतबार मात्र डीओजीईले नेपाललाई दिइआएको ५ अर्ब रुपैयाँ रोक्का गरेको सूचना जारी गरेको छ । यो अनुदान संघीयताका नाममा २ करोड डलर र जैविक विविधता संरक्षणका नाममा १ करोड ९० लाख डलर रहेको छ ।

बंगलादेशलाई राजनीतिक मामलामा दिएको २ करोड ९० लाख डलर पनि रोकिदिएको छ । युएसएआइडीमार्फत अमिरकाले विश्वभर दिइआएको रकम दुरुपयोग र भ्रष्टाचारको खुलासा त अमेरिकी अधिकारीहरूले नै खोल्दिइसकेका छन् ।

अमेरिकी सांसदले भनेको भन्दा कैयन गुणा बढी रकम हिन्दू धर्ममाथि प्रहार गरी नास्तिकता फैलाउन दुरुपयोग गरिएको त्यहाँका सांसदले सार्वजनिक रूपमा बोलिसकेका छन् । अमेरिकी जनताबाट प्राप्त त्यत्रो रकम नेपालमा धर्म संस्कृतिमाथि प्रहार गर्न आएको घटनाले नेपाली समाज तरङ्गित छ ।

नेपालमा मात्र सत्य तथ्यसहित यो खुलासा गरिएको हुन्थ्यो भने पनि रकम दुरुपयोग गर्नेहरू आक्रामक रूपमा प्रस्तुत हुन्थे । तर, जसले अनुदान रकम दियो उसैले तथ्य खोलिदिएपछि अमेरिकी सहयोग दुरुपयोग गर्नेहरू आत्तिएका छन् । केहीले तर्कहीन बोली बोलिरहेका छन् । उनीहरू अमेरिकाको पैसाको भ्याक्सिन पनि शरीरमा परेको भन्दै बचाउमा उत्रिएका छन् ।

वास्तवमा नेपाली जनताले अमेरिकी सहयोगको विरोध गरेका छैनन् । तर, त्यस्ता सहयोग के उद्देश्यले खर्च भयो ? कसरी भ्रष्टाचार गरियो ? यो जवाफ खोजेका छन् । अमेरिकी सहयोगमा हालिएको भ्याक्सिनको विरोधको कुनै तुक हुँदैन तर भ्याक्सिनमा भ्रष्टाचार भयो भने प्रश्न उठ्छ ।

अमेरिकाले दिएको रकम धर्म संस्कृतिमाथि योजनाबद्ध आक्रमण गर्न दुरुपयोग भएको हो भने गम्भीर प्रश्न उठ्छ नै । गृह मन्त्रालयले त यसको जिल्ला जिल्लामा अध्ययन गर्न परिपत्र नै जारी गरेको छ । नेपालमा आएको रकम दुरुपयोग भएको अमेरिकी अधिकारीले नै भनेपछि त्यसको छानबिन गर्नुपर्ने दायित्व नेपाल सरकारको हो । यसबाट सरकार पन्छन मिल्दैन ।

अमेरिकी सहयोग दुरुपयोगको घटनासँगै जर्ज सोरसको ओपन सोसाइटी फाउन्डेसन पनि चर्चामा छ अहिले । सोरसले खुल्ला समाजका नाममा धर्म संस्कृतिमाथि आक्रमण गराउने, समलिङ्गी गतिविधिलाई बढवा दिने एजेन्डामार्फत प्रभाव बनाए दुनियाँभर । यसका लागि उनले मिडिया, सामाजिक अभियन्ता र राजनीतिक नेता कार्यकर्तालाई परिचालन गर्दथे ।

नेपालको हकमा पनि उनले यसै गरे । नेपालको संविधानबाट हिन्दू राष्ट्र हटाएर धर्मनिरपेक्ष बनाउने बेलामा ओपन सोसाइटी सबैभन्दा सक्रिय भयो । अरबौँ रकम खर्च ग¥यो । त्यो रकम क कसले के प्रायोजनका नाममा पाए त्यसको छानबिन हुनै पर्छ ।

सोरसको एजेन्डा मुताबिक सामाजिक र राजनीतिक क्षेत्रका नाम चलेका व्यक्तिहरू चले । नेपाली समाजको मूल आत्मा हिन्दू, बौद्धसहितका सनातन संस्कृतिमाथिको धावा बोलिएको घटना थियो त्यो । यसका लागि को को कसरी सक्रिय भए भन्ने छताछुल्ल हुँदै गइरहेको छ । तर, यतिञ्जेल नेपाली समाजमा ठूलै क्षति भइसकेको छ ।

नेपाली समाजमा कुन योजना मुताबिक कसरी बाह्य आक्रमण भयो भन्ने बुझ्न अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प नै आउनुप¥यो । परम्परागत मिडियालाई चुनौती दिनेगरी सामाजिक सञ्जाललाई प्रभावकारी बनाउने एलन मस्क नै सशक्त हुनुप¥यो ।

ट्रम्प शासित अमेरिकाले दुनियाँभरका उदारवादको मुखुण्डो ओढेकाको असली अनुहार छर्लङ्ग पारिदिएको छ । यतिसम्मकी समाज ध्वस्त पार्न पुस्तक लेख्नसमेत विदेशी अनुदान लिइएको भेटियो । त्यस्तै पुस्तकहरूले मिडियामा चर्चा पाउने र पुरस्कार पाउने भइहाले ।

यी सबै ग्रान्डडिजाइनअन्तर्गतको थियो । युद्ध नगरी सनातन संस्कृति भाँड्ने र जातीय द्वन्द्व फैलाउने । यसको मूल उद्देश्य नेपाली समाजलाई तहसनहस पार्ने नै हो । नेपालमा पछिल्लो तीन दशक समाज नै ध्वस्त पार्ने ग्रान्डडिजाइनअनुसार गतिविधि भएको घटनाक्रमले पुष्टि गर्दै लगेको छ । समाज ध्वस्त पार्ने ग्रान्डडिजाइन के हुन्छ भनेर एकजना पूर्व अमेरिकी सुरक्षा अधिकृतले वासिङ्टन टाइम्समा लेख नै लखेका थिए जुन नेपालमा प्रयोग गरिएको जस्तै छ ।

वासिङ्टन टाइम्समा सन् २०१८ मा एल टोड वुडले कसरी समाजलाई ध्वस्त पार्ने शीर्षकमा लेखमार्फत् भनेका छन्ः ‘यदि मैँले दुस्मनको समाज ध्वस्त पार्न चाहेमा दूरगामी रणनीति बनाएर बिस्तारै र प्रभावकारी ढङ्गले कदम चाल्छु र यसको प्रतिरक्षाको खुसी पनि राख्छु । म उल्लेखित कार्य गर्छुः

१. म देश निर्माण गर्ने र एकताबद्ध पार्ने धार्मिक आस्था ध्वस्त पार्छु ।
२. म समाजको रचना गर्ने परिवार संस्था ध्वस्त पार्छु । देशको शक्ति र वैभवमा योगदान पु¥याउने भावी पुस्ता तयार गर्ने संयुक्त परिवार च्यातेर एकल परिवारमा भागबन्डा गराउँछु । समलिङ्गी गतिविधिको एजेन्डालाई बढवा दिन्छु जसले नयाँ जन्मलाई तारोमा पार्ने र जन्मदर घटाउन थाल्छ । बालबालिकालाई कुन लिङ्गका हौँ भन्नेमै अलमल पारिदिन्छु ।
३. विषालु पुरुषवाद र अतिवादी महिलावादको धारणालाई बढवा गरिदिन्छु ।
४. म शैक्षिक प्रणालीलाई नै ध्वस्त पारिदिन्छु । अर्थात् देशका महामानवको ठाउँमा विदेशी एजेन्डा र सिद्धान्त पठाइन्छ ।’

यीबाहेक उनले देशको राष्ट्रिय चिह्न, इतिहास, महान् नेतृत्वलाई बदनाम गराउने र घृणा जगाउने रणनीति चलाइने पनि भनेका छन् । राजनीतिक प्रणालीलाई भ्रष्ट बनाइने पनि उल्लेख गरेका छन् ।

यसरी कुनै पनि समाजलाई ध्वस्त पार्न बाह्य रणनीतिहरू पैसा र एजेन्डासहित पस्दछ भन्ने विश्वका धेरै उदाहरणहरू छन् । नेपालको सन्दर्भमा जे घटना बाहिर आइरहेको छ अहिले त्यसले समाज ध्वस्त पार्ने निहित उद्देश्य लुकेको बुझ्न सकिन्छ ।

नेपाली समाजलाई बलियो, संगठित र विकसित बनाउन ती पैसा र सिद्धान्त भित्रिएका थिए भने त समाज अहिलेको जस्तो समस्याग्रस्त हुन्न थियो होला । परिणामले देखाइसकेको छ कि जतिसुकै लोकप्रिय नारा दिएपनि र लोकप्रिय व्यक्ति देखापरे पनि समाजको आत्मामाथि नै प्रहार गरेर ध्वस्त पार्न खोजिएको छ । यसलाई रोक्न जरुरी छ ।

कुनै पनि देश र समाजले पहिले दिने प्राथमिकता भनेको आफ्नो राष्ट्रिय तथा सामाजिक स्वार्थ नै हो । जसरी मोदीले ट्रम्पलाई देखाउँदै सबै आ– आफ्नो राष्ट्रिय स्वार्थमा केन्द्रित हुने बताइदिए । नेपालको राजनीतिक नेतृत्वले पनि बेलैमा यसबारे सोच्न र मनन गर्न जरुरी छ ।

देशको मूल चरित्र के हो ? नेपाली समाजको आत्मा के हो ? यो बुझेर मात्र राष्ट्रको कार्यमा बढ्न सकिन्छ । कसैले दिने सहयोगमा पक्कै स्वार्थ हुन्छ । त्यस्ता सहयोगलाई राष्ट्रिय स्वार्थमा कसरी ढाल्ने त्यो नेतृत्वको खुबीमा भर पर्छ । साहित्य सृजना, कला, मिडियाजस्ता बौद्धिक क्षेत्रमा समेत एजेन्डासहित अनुदानको दुरुपयोगको घटना सामान्य होइनन् । यसमा राज्य आँखा चिम्लिएर बसेमा देश र समाज नै ध्वस्त हुने खतरा रहन्छ ।

देशको इतिहास मेट्ने, महापुरुषको बदनाम गराउने, धार्मिक आस्था कमजोर पार्ने, संस्कृतिमाथि प्रहार गर्ने, समाजलाई एकताबद्ध र सशक्त बनाउने संरचना नै ध्वस्त पार्नेगरी आएका एजेन्डाहरू घातक छन् भन्ने बेलैमा बुझेर कदम चाल्नुपर्ने आजको आवश्यकता हो । देश र जनताले आफूबाहिरका दुस्मन त सजिलै चिन्दछन् तर आफैँभित्र लुकेका दुस्मनहरू चिन्न कठिन छ । देशका दुस्मन चिनेर बेलैमा कठोर कदम चाल्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्