Logo
Logo

प्रेमले जन्माएको अपराध


693
Shares

जर्मन तानाशाह हिटलर भन्थे– ‘प्रेम होइन, युद्ध गर्नुस् । किनभने, युद्धमा तपाईँ कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ । तर, प्रेममा तपाईँ न बाँच्नुहुन्छ, न मर्नुहुन्छ ।’ तर, पछिल्लो समय युद्धजस्तै बन्दै गएको छ, प्रेम पनि ! प्रेमकै कारण मर्नेको संख्या बढ्दो छ । यसको पछिल्लो एक उदाहरण हुन्– प्रकृति लम्साल ।

बुटवलकी घर भएकी प्रकृति बी–टेक पढ्न भारतको ओडिसा राज्यको कलिंगा इन्सिच्युट अफ इन्डस्ट्रियन टेक्नोलोजी (केआइआइटी) पुगिन् । सोही क्रममा एक भारतीय युवकसँग प्रेममा परिन् । तर, उनको मृत्युवरण त्यही प्रेम बन्यो । प्रेमीकै कारण उनी आत्महत्या गर्न बाध्य भइन् ।

यही फागुन ४ गते प्रकृतिले आत्महत्या गरिन् । त्यसपछि उनको प्रेमी भनिएका युवकसँगको कुराकानीको अडियो बाहिरियो । उक्त अडिओमा केटी र एक केटा कुरा गरिरहेका छन् । दुई जनाबीच बाझाबाझ हुन्छ । केटाले फोनमा केटीलाई निरन्तर अश्लील शब्द प्रयोग गरिरहेका छन् । केटाले केटीलाई माफी माग्न भन्छ । केटीले माफी माग्छिन् । दुई जनाबीच लामो बहसपछि केटी रुन थाल्छिन् । उक्त कुराकानीले पनि ती युवकले प्रकृतिमाथि प्रेमको नाममा हिंसा गरेको प्रस्ट हुन्छ ।

गत मङ्सिरमा मात्रै मेरै साथी आशिष राईले पनि प्रेमकै कारण आत्महत्या गरेका थिए । प्रेममा धोका पाएपछि उनका घरपरिवारले अर्की केटीसँग विवाह गराइदिएको थियो । तर, त्यही छाडिजाने प्रेमिकालाई भुल्न सकेनन् । आमाबुबा र श्रीमतीको मायाको मतलब भएन । र, धोका दिने प्रेमिकाकै यादमा आत्महत्या गरे !

यी त केही उदाहरण मात्रै हुन् । प्रेममा धोका खाने र दिनेहरू बग्रेल्ती भेटिन्छन् । धेरैले आफूलाई सम्हाल्छन् । केहीले सम्हाल्न सक्दैनन् । आवेगमा आएर मृत्युको बाटो रोज्छन् । केहीमा बदलाको भावना आउँछ । र, अपराधको बाटो रोज्छन् । यस्ता घटनाहरू बारम्बार चर्चामा आइरहन्छन् । जसले प्रेमलाई अपराध र घृणित बनाइरहेको छ ।

अचेल प्रेम गर्न पनि ठूलै जोखिम मोल्नुपर्छ ! मायालुको हातमा भएको गुलाब कतिखेर चक्कुमा परिणत हुने हो र त्यो मुटुमा रोपिने हो, ठेगान हुँदैन । प्रेमीप्रेमिका एकअर्कासँग सशंकित हुनुपर्ने अवस्था छ । यसले मान्छेमा दुर्भाव बढाइरहेको छ ।

प्रेम सफल भए खुसीको बहार आउँछ । असफल भए दुःखको नियति बन्छ । प्रेमलाई सबैभन्दा पवित्र मानवीय भावना मानिन्छ । तर, यसकै कारण उब्जिएका हत्या र हिंसाका घटनाले प्रेममाथि प्रश्नचिह्न लगाएका छन् ।

प्रेममा धोका खाने र दिनेहरू बग्रेल्ती भेटिन्छन् । धेरैले आफूलाई सम्हाल्छन् । केहीले सम्हाल्न सक्दैनन् । आवेगमा आएर मृत्युको बाटो रोज्छन् । केहीमा बदलाको भावना आउँछ । र, अपराधको बाटो रोज्छन् । यस्ता घटनाहरू बारम्बार चर्चामा आइरहन्छन् । जसले प्रेमलाई अपराध र घृणित बनाइरहेको छ ।

मन परेको मान्छेलाई पाउनैपर्छ भन्ने जित पाल्नेहरू धेरै छन् । र, स–सानै मनमुटाब वा शंकाकै भरमा अपराधको सुरुङ खन्छन् । नपाए आत्महत्या गर्ने, एसिड छ्यापिदिने, गोप्य फोटो तथा भिडियो सार्वजनिक गरिदिन्छन् । ‘लिभिङ टुगेदर’, बहुसम्बन्ध, विवाहेत्तर सम्बन्धका कारण पनि थुप्रैले अकालमा ज्यान गुमाएका छन् । बिहेअघि नै गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड सँगै बस्ने चलन हाम्रो समाजमा काउसो बनिरहेको छ ।

पहिले प्रेम सम्बन्ध गाँस्ने । त्यही सम्बन्धको आडमा बिहेको प्रलोभनमा पारेर शारीरिक सम्बन्ध राख्ने । त्यसपछि छुट्टिन अनेक बहाना बनाउने, त्यसैक्रममा युवतीलाई अनेकौँ लाञ्छना, आरोप, लगाउँदै शारीरिक तथा मानसिक यातना दिने गरेको पाइन्छ ।

प्रेम सम्बन्ध हाउगुजी बन्दै जानुको प्रमुख कारण व्याप्त हिंसा नै हो । स्वार्थले मान्छेलाई अन्धो बनाउँछ । र, मानिसमा हिंस्रक भावना जाग्छ । प्रेमको आडमा हुने हिंसाको न्यायिक लडाइँमा पनि निकै अप्ठ्यारो छ । यसको ज्वलन्त उदाहरण निहारिका र बिनु यादव हुन् । राष्ट्रिय बहस बनेको उनीहरूको मुद्दा अझै पनि बेलाबेला चर्चामा आइरहन्छ ।

अचेल स्कुल-कलेज पढ्ने कतिपय केटाकेटीदेखि छोराछोरी भइसकेका महिला-पुरुषसमेत ‘मल्टिपल रिलेसनसिप’मा हुने गरेका पाइन्छन् । यस्ता ‘अप्राकृतिक सम्बन्ध’हरूले पनि हिंसा जन्माउने गरेका छन् । आफ्ना आवश्यकता पूरा गर्न जोसँग पनि प्रेमको नाटक गर्छन् । र, अन्त्यमा आफैँ फस्छन् ।

नेपालकै सबैभन्दा ठूलो र विवादास्पद दरबार हत्याकाण्डका पछाडिको कारण पनि तत्कालीन युवराज दीपेन्द्र शाहको प्रेमलाई मानिएको थियो । दीपेन्द्रले आफ्नी आमा तथा तत्कालीन रानी ऐश्वर्याले प्रेमिका देवयानी राणालाई बुहारीका रूपमा स्वीकार नगर्ने अड्डी कसेपछि वंश नै नास हुने गरी दरबारमा गोली चलाएको कतिपयले बताउने गरेका छन् । त्यो पुष्टि भने भएको छैन ।
प्रेमसँग जोडिएका अपराधका घटना संसारभर हुने गरेका छन् । प्रेममा धोका भएपछि हत्या गर्ने, आत्महत्या गर्ने, दुव्र्यसनमा फस्ने, नग्न तस्बिर तथा भिडियोहरू इन्टरनेटमा अपलोड गरेर ब्ल्याकमेलिङ एवं चरित्रहत्या गर्ने र प्रतिशोधको अस्त्रका रूपमा प्रयोग गर्ने गरेका छन् ।

क्षणिक सोचले गरिने प्रेममा अपराध हुने गरेको देखिन्छ । मरौँला र मारौँला भनेर कसैले प्रेम गर्दैन । प्रेम सम्बन्धमा कुनै यस्तो क्षण पनि आउँछ, जतिबेला त्यो सम्बन्ध त्यहाँबाट अगाडि बढ्दैनन् अनि हत्यामा परिणाम हुन्छ । हत्या, आत्महत्या र एसिड छ्याप्ने घटनाहरू क्षणिक र उत्तेजनात्मक आवेगका परिणति हुन् ।

जहाँसम्म प्रेममा अपराध हुने कुरा छ । त्योभन्दा पहिले त्यो वास्तविक प्रेम थियो कि थिएन भन्ने कुरा थाहा पाउन पनि उत्तिकै जरुरी छ । प्रेम कसैले चाहेर वा नचाहेर हुने होइन । तर प्रेमभित्रको अपराध चाहिँ धेरै जानीजानी हुने गरेका छन् । अत्यन्तै छिटो विश्वास गर्ने र प्रेम पछि तुरुन्तै देह सुख खोज्दा आउने परिणाम अपराधसम्म पुगेर टुङ्गिने यथार्थ नेपाली समाजमा बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत चिनेर वा रूप, वैश र पैसाको आडमा गरिएको प्रेम कति टिकाउ होला आफै बुझ्न सकिन्छ । यस हिसाबले पनि नेपाली समाजमा प्रेमको नाममा जघन्य अपराध बढ्दै गएको छ ।

यसका लागि प्रत्येक व्यक्ति र आम जनसमुदाय सचेत हुनुपर्ने जरुरी छ । उमेरको जोसमा होस् गुमाउँदा आइपर्न सक्ने समस्या र चुनौतीको विषयमा व्यक्ति स्वयम् सचेत हुन जरुरी छ । माया र प्रेम केको लागि हो वा कसैले चाहे त्यो केटा होस वा केटी मलाई कोही किन माया गर्दै छ । कतै यो सुनेर बनावाटी होइन भन्नेतर्फ पनि उत्तिकै सचेत हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्