नवलपरासी । लागुऔषधमा कसूरमा दोषी ठहर भएका नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक)लाई एक वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना भएको छ ।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गत साता गुप्तालाई लागुऔषधमा कसूरदार ठहर गरेपछि बिहीबार भएको सजाय निर्धारण फैसला गरेको हो । उक्त सजायबाहेक गुप्तालाई ‘क्षतिपूर्ति शुल्क पीडित राहत कोष’मा आठ हजार जरिवाना दाखिला गर्नुपर्ने पनि फैसलामा भएको अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए ।
अध्यक्ष गुप्तासँगै लागुऔषधमा कसूरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला भएको छ । लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने र त्यसको आधारमा अध्यक्ष गुप्तालाई आधा सजाय हुने गरी सजाय निर्धारणको पेशी तोकिएको थियो ।
धोबीलाई गरिएको सजायको आधारमा अध्यक्ष गुप्तालाई एक वर्ष कैद र २ लाख जरिवाना तोकिएको हो । लागुऔषध अभियोगमा २०७९ असोज २६ गतेदेखि पुर्पक्षमा रहेका धोबीले पटकपटक लागुऔषधमा कसूरदार देखिएकाले थप एक वर्ष कैद र ५० हजार जरिवाना तोकिएको हो । धोबी पाल्हिनन्दन आधारभूत अस्पतालका गार्ड हुन् ।
अध्यक्ष गुप्तासहित लागुऔषध मुद्दामा पाँच जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये रामा गुप्ता भन्ने रामा साह र जितेन्द्र पासवानले सफाई पाएका छन् । अभियोग लागेका पाल्हिनन्दन गाउँपालिका–३ का मन्टु भनिने विवेक प्रसाद पाण्डे अझै फरार छन् । अदालतका अनुसार पाण्डेको मुद्दा मुतलबी (फरार रहेकाले कारबाही स्थगन)मा राखिएको छ ।
यसैबीच कैद र जरिवाना फैसला भएका अध्यक्ष गुप्ताले अब कानुनी व्यवस्थाअनुसार धरौटी राखेर पुनरावेदन गर्न पाउने छन् । थुनामा बस्नु नपर्ने भएपछि गुप्ताको अध्यक्ष पद भने कायमै रहने अदालतले जनाएको छ ।
२०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा भएको घटनामा अध्यक्ष गुप्ताको निर्देशनमा २÷२ थान एम्पुलको झोला ९०/९० थान डाइजेपाम नुर्फिन र फेनार्गनसहितको झोला रामा र जीतेन्द्रको मोटरसाइकल नजिक फालेर फसाउन षडयन्त्र गरेकाले अध्यक्ष गुप्तालाई दोषी ठहर गरेको अदालतले जनाएको छ ।