काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित ढंगले अघि बढेको पार्टीले निष्कर्ष निकालेको बताएका छन् । बिहीबार प्रेस सेन्टर नेपाल दोलखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

व्यवस्थाविरोधी शक्तिहरूविरुद्ध प्रस्तुत हुनेबारे गणतन्त्रवादी दलहरूसँग छलफल गरिरहेको बताउँदै उनले भने, ‘प्रतिगामी शक्तिहरूविरुद्ध हामीले छलफल गरिरहेकै छौँ । अहिले लोकतान्त्रिक उपलब्धिहरूलाई खोस्ने वा अपहरण गर्ने प्रवृत्ति निर्णायक बिन्दुमा पुगिसक्यो भन्ने मूल्यांकन गरेर अभियान स्थगित गरेर आएका होइनौँ । तर, त्यो प्रयत्न पहिलेभन्दा सुनियोजित र व्यवस्थित रूपमा बढिरहेको छ भन्ने हाम्रो निष्कर्ष हो ।’ उनले सांसदभित्रको भूमिकालाई पनि प्रभावकारी बनाउनुपर्ने बताए ।
अहिलेको सरकारले अलोकप्रिय काम गरेकै कारण राजावादीहरूले सक्रियता बढाउने मौका मिलेको उनको भनाइ छ । यो सरकार भ्रष्टाचारमा केन्द्रित रहेको बताउँदै उनले भने, ‘यो सरकारले लोकतन्त्र, देश र जनताको हितमा काम गर्दैन ।’
अग्रगमनको संविधान संशोधन गर्न तयार रहेको भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थामा जानुपर्ने बताए ।
‘प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ’ उनले भने, ‘निर्वाचनमा देखिएको भ्रष्टाचार रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ, मन्त्रिपरिषद् संसद् बाहिरबाट बनायौँ भने धेरै कुरा सकारात्मक रूपमा अघि बढ्छ ।’