Logo
Logo

गगनसँग सहकारीको ‘बदला’ लिन रास्वपाले उठायो ‘चिहानको जग्गा’ !


8.9k
Shares

काठमाडौं । बुधबारको प्रतिनिधसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले कांग्रेस नेताहरूले जग्गा हडपेको विषय उठाए । काठमाडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर ९ स्थित लोकतान्त्रिक चोकमा रहेको चिहानलाई पनि व्यक्तिको नाममा राखेको भन्दै रास्वपा सांसद्हरुले प्रश्न उठाए । 

रास्वपा सुमना श्रेष्ठले भनेकी थिइन्– ‘काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ स्थित लोकतान्त्रिक चोकको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली काँग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको स्थानीयहरूको गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ । यसमा पनि ध्यानाकर्षण गराएँ ।’

त्यस्तै शिशिर खनालले भनेका थिए, ‘काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ मा रहेको जग्गा, नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६२ नेपाली काँग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयहरूको गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ ।’

त्यसपछि यस विषयले कोलाहाल मच्चिएको छ । अहिले रास्वपा भर्सेस् कांग्रेसको स्थिति बनेको छ । रास्वपा सांसदहरुले आरोप लगाएपछि कांग्रेस सांसदहरूले विरोध जनाए । उनीहरूले नियमापत्तिको जनाउ गरे ।

विरोध चलिरहँदा सभामुख देवराज घिमिरेले बस्न आग्रह गरिरहे । कांग्रेसले अवरोध  गरिरह्यो । कांग्रेस संसदीय दलका सचेतक सुशीला थिङ, पूर्वयुवा तथा खेलकुदमन्त्रीसमेत रहेका राजेन्द्र केसी, राजेन्द्र बजगाईं तथा देवप्रसाद तिमिल्सिनाले तथ्यविना आरोप लगाएको भन्दै सांसदद्वय श्रेष्ठ र खनालले बोलेको कुरा रेकर्डबाट हटाउन माग गरे ।

सांसद केसीले प्रतिनिधि सभामा आरोप लगाएपछि त्यसको तथ्य पुष्टि गर्न सक्नुपर्ने बताएका थिए । तथ्य पुष्टि नहुने भए संसदको रेकर्डबाट हटाउन उनले माग गरे पनि सभामुख घिमिरेले हटाउन निर्देशन दिएनन् ।

सदनमा चलेको चर्काचर्कीपछि संसद बाहिर समेत यो विषयले प्रवेश पायो । कांग्रेस सांसद रामहरि खतिवडाले भर्खरै कांग्रेस छाडेकाहरुले क्रान्तिकारिता देखाउन कांग्रेसमाथि आरोपित गर्ने काम गरेको दाबी गरे । 

कांग्रेसले यसको प्रतिवाद गरे पनि रास्वपाले भने सार्वजनिक जग्गा हडपिएको आरोप चर्को रूपमा उठाएको छ । रास्वपाले कित्ता नम्बर नै किटेर दाबी गरिरहेको जग्गा कांग्रेस नेताकै नाममा रहेको देखिन्छ । 

को हुन् जग्गा हडप्ने ? 

दुवै सांसदले नाम नलिई ‘कांग्रेस नेता’ भनेका व्यक्ति थिए डा. केदारनरसिंह केसी । डा. केसी नेपाली काँग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अर्जुननरसिंह केसीका सहोदर भाइ हुन् । 

केसीको नाममा रहेको र कित्ता नम्बर ६३ को जग्गा नेपाल सरकारको नाममा रहेको उल्लेख भएको देखिन्छ । रास्वपाले दुई कित्ता जग्गा कब्जा गरेको दाबी गरे पनि एउटा कित्ता सरकारी नाममा नै देखिन्छ । कित्ता नम्बर ६३ को जग्गा भने नेपाल सरकारको नाममा नै रहेको देखिन्छ । 

गत साउन १६ गते कार्यालयले तारकेश्वर नगरपालिकालाई लेखेको पत्रमा लेखिएको छ, ‘काठमाडौँ जिल्ला साबिक मनमैजु वडा नं.९ सिट नं. १०२०९४४२३ कि.नं. ६२ क्षेत्रफल २१.६२ व.मि. जग्गा ज.ध. केदारनरसिंह केसीका नाममा र कि.नं.६३ क्षे.फ.२६३.६१ नेपाल सरकारका नाममा यस कार्यालयको मोठ स्रेष्तामा जनिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’

रास्वपाले यसरी जग्गामाथि विवाद सृजना गर्ने कारणका पछाडि कांग्रेस महामन्त्री गगन थापा समेत जोडिएका छन् । गगनकी श्रीमती अर्जुननरसिंह केसीकी छोरी हुन् । यसरी अर्जुननरसिंह केसीका भाइ केदारनरसिंह र गगनको परिवारको नाता सम्बन्ध छ । 

गगन तीनै व्यक्ति हुन, जसले रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी गरेको आरोप लगाउदै कारबाहीको माग गरेका थिए । प्रमाण छ भन्दै गगनले संसदीय छानविन समिति बनाउने विषयमा चर्को आवाज नै उठाएका थिए । 

यसरी अहिले रविविरुद्धको स्थिति सिर्जना हुनुमा कांग्रेस र गगन कारण देखिन्छन् । यहि कारण पनि रास्वपाले जग्गाको विषयलाई जोडतोडका साथ उठाउने स्थिति देखिन्छ । तर, रास्वपाले गरेको दाबीअनुसारकै दुई कित्ता केदारनरसिंहको नाममा नदेखिदा भने रास्वपाको दाबी केही फिक्का देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्