काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । उनले यो युक्रेनको लागि अस्थायी राहतबाहेक केही नभएको टिप्पणी गरेका छन् ।
उशाकोभले रसियन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै रूसले आफ्नो स्वार्थ र चिन्तालाई ध्यानमा राख्दै दीर्घकालीन शान्ति सम्झौताका लागि जोड दिने बताए ।

साउदी अरबमा अमेरिका र युक्रेनबीच युद्धविरामको सहमति भएपछि रुसको तर्फबाट आएको यो पहिलो अभिव्यक्ति हो । उनले प्रस्ताव अस्वीकार गर्दै भने, ‘यो युक्रेनी सेनाको लागि अस्थायी आराम र पुनः संगठित हुने मौकाबाहेक अरू केही हुनेछैन ।’
मस्कोमा हुने लागेको अमेरिका–रूसका उच्च अधिकारीहरूबीच वार्ताको पूर्वसन्ध्यामा उनको यस्तो कडा अडान सार्वजनिक भएको हो । उशाकोभले रूसले युक्रेनमा मस्कोको हित र चासोलाई ध्यानमा राख्ने दीर्घकालीन शान्ति सम्झौता चाहेको बताए । उनले रुस र अमेरिकाबीच शान्तिपूर्ण रूपमा वार्ता भइरहेको पनि जानकारी दिए ।
यसअघि साउदी अरेबियामा भएको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको छ र ट्रम्पले अब रुसलाई पनि त्यसका लागि मनाउन खोजिरहेका छन् । यसअघि रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सैनिक पोशाक लगाएर युद्धग्रस्त क्षेत्र कुस्र्क क्षेत्रको भ्रमण गर्दै युद्धविराम नमान्ने संकेत गरेका थिए ।