काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिस्ट पार्टीहरूले आफूलाई समाजवादी मोर्चा भनेकोमा आपत्ति प्रकट गरेका छन् ।

शुक्रबार डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ‘कम्युनिस्ट’ हरूको मात्र मोर्चा भएपछि त्यसलाई ‘कम्युनिस्ट मोर्चा’ भन्नुपर्ने जिकिर गर्दै प्रश्न गरेका छन्, ‘कि ‘कम्युनिस्ट’ भनेर कार्यकर्तालाई ठग्ने, अनि ‘समाजवादी’ भनेर जनतालाई ठग्ने दोहोरो चाल हो ? यसरी दुईवटा डुंगामा खुट्टा राखेर कता पुगिएला ?’
यो भयंकर वैचारिक र नैतिक विचलन भएको उनको ठहर छ । उनले लेखेका छन्, ‘केही पुराना ‘कम्युनिस्ट’ घटकहरूले मौसमी रूपमा एक ठाउँमा उभिएर आफूलाई ‘समाजवादी मोर्चा’ भन्ने गरेका छन्। ‘कम्युनिस्ट’ हरूको मात्र मोर्चा भएपछि त्यसलाई ‘कम्युनिस्ट मोर्चा’ भने भइहाल्थ्यो। यदि ‘कम्युनिस्ट’ भन्न लाज लागेको भए र ‘समाजवादी’ भन्नु उपयुक्त ठानेको भए पार्टीको नाम नै ‘समाजवादी’ राखे भइहाल्थ्यो! कि ‘कम्युनिस्ट’ भनेर कार्यकर्तालाई ठग्ने, अनि ‘समाजवादी’ भनेर जनतालाई ठग्ने दोहोरो चाल हो? यसरी दुई वटा डुंगामा खुट्टा राखेर कता पुगिएला ? यो भयंकर वैचारिक र नैतिक विचलन हो। यसको सट्टा विगतका कम्युनिस्ट आन्दोलनका अनुभव र नयाँ युगको नयाँ आवश्यकता अनुरूप उत्तर-पुँजीवादी र उत्तर-साम्यवादी वैचारिक-राजनीतिक विकल्प खोज्नेतिर लाग्ने हो कि?