काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको कुस्र्क क्षेत्रमा रहेका युक्रेनी सेनालाई ‘आत्मसमर्पण’ गर्न चेतावनी दिएका छन् । रूसी सुरक्षा परिषदका सदस्यहरूसँग शुक्रबार भर्चुअल बैठकमा पुटिनले कुस्र्क क्षेत्रमा युक्रेनी सेनाले सर्वसाधारणविरूद्ध अपराध गरेको आरोप लगाए ।

यस्तै, पुटिनको भनाइप्रति समर्थन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युक्रेनी सेनाको जीवन रक्षाका लागि आत्मसमर्पण गर्नुपर्ने बताएको अन्तराृष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा लेखेका छन्, ‘मैले राष्ट्रपति पुटिनलाई उनीहरूको जीवन बचाउन जोडदार अनुरोध गरेको छु । यो दोस्रो विश्वयुद्ध पछि नदेखिएको भयानक नरसंहार हुनेछ ।’
शुक्रबारको सुरक्षा परिषदको बैठकमा पनि पुटिनले ट्रम्पले गरेको अनुरोधबारे सदस्यहरूलाई जानकारी गराएका थिए भनेर अमेरिकी मिडिया सिएनएनले जनाएको छ ।
समाचारमा जनाइएअनुसार पुटिनले भने, ‘यदि युक्रेनी सेनाले आफ्नो हतियार त्यागे र आत्मसमर्पण गरे भने उनीहरूलाई अन्तर्राष्ट्रिय कानुन र रूसको कानुनअनुसार जीवन र उचित व्यवहारको ज्ञारेन्टी गरिनेछ ।’
उनले रूस अमेरिकासँगको सम्बन्धलाई पुर्नस्थापित गर्न चाहेको बताउँदै ट्रम्पले भनेअनुसार गर्नका लागि कुस्र्क क्षेत्रमा रहेका युक्रेनी सेनाहरुले आत्मसमर्पण गर्नुपर्ने बताएका छन् । ‘सम्बन्ध विस्तारै अगाडि बढिरहेको छ । हेरौं के हुन्छ’ पुटिनले बैठकमा भनेका थिए ।
बैठकपछि रुसी सुरक्षा परिषद्का उपाध्यक्ष, पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले सामाजिक सञ्जालमा पोस्ट गरेर आत्मसमर्पण नगरे सोहीअनुसार हुने र उनीहरूको नष्ट गरिने बताएका छन् । पुटिन आफै केही दिनअघि कुस्र्क क्षेत्रमा पुगेका थिए । त्यहाँ पुगेर उनले आफ्ना सैनिकहरूलाई त्यस क्षेत्रलाई तत्काल खाली गर्न निर्देशन दिएका थिए ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनको नियन्त्रणमा रहेको कुस्र्क क्षेत्रका सबै भागहरू चाँडै मुक्त हुने बताएका छन् । उनले भने, ‘पुटिनले यो काम सकेसम्म चाँडो गर्न आवश्यक रहेको भन्नुभएको छ । हाम्रो सेनाले नागरिकहरूको ज्यान बचाउँदै कुस्र्क क्षेत्र चाँडै नै मुक्त गर्नेछ भन्नेमा शंका छैन ।’