पाँचथर । सत्तारुढ दल नेपाली कांग्रेस महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा र रकम दिने अभ्यास कानुन बनाएर रोक्नुपर्ने बताएका छन् । उनले राज्यकोषबाट पैसा बाँड्ने नभइ पैसा वितरण रोक्ने कानुन बनाउनुपर्ने बताएका हुन् ।

पाँचथरमा शनिबार आयोजित कार्यक्रममा महामन्त्री थापाले कानुनबिना नै राज्यका पूर्वविशिष्टहरूलाई सेवा सुविधा दिइँदै आएकोमा त्यसलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए । पूर्वविशिष्टहरूलाई सेवा सुविधा दिनेबारे सरकारले जनतामा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।
‘अहिले सरकारले के भन्नुप¥यो भने म यस्तो कानुन बनाउँछु, मैले बनाएको कानुनबाट नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सेनापति, सभामुख भइसकेको व्यक्तिहरूलाई राज्यले दिनैपर्ने न्यूनतम सुरक्षाको कुरा दिन्छु,’ उनले भने, ‘त्योबाहेक राष्ट्रको ढुकुटीमा अत्यन्त ठूलो दबाब परेको छ, त्यसकारण सरकारले चाहेको बेलामा मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति पैसा दिने लामो समयदेखिको अभ्यास छ यो अभ्यासलाई कानुन बनाएर रोक्छु भन्नुपर्छ ।’ सरकारले के कानुन ल्याउन लागेको हो भन्ने कुरा स्पष्ट पार्नुपर्ने थापाको भनाइ थियो ।
आफू स्वास्थ्यमन्त्री हुँदा राष्ट्रको सर्वोच्च पदमा बसिसकेको व्यक्तिहरू अस्वस्थ भएमा अमेरिका, जापानलगायतका देशमा उपचार गराउँदा राज्यकोषबाट रकम तिर्ने अभ्यासको कानुन बनाएर अन्त्य गरेको स्मरण गर्दै थापाले भने, ‘कुनै पनि नेताले नेपालभन्दा बाहिर गएर विदेशमा उपचार गर्नुप¥यो भने राज्यको ढुकुटीबाट एक रुपैयाँ, पैसा पनि लिएर जान पाइँदैन भन्ने कानुन बनाएका छौं ।’ स्थानीय तह र प्रदेश सरकारले पनि कानुन बनाएर पूर्वपदाधिकारीलाई सरकारी कोषबाट सेवासुविधा दिने कुराको अन्त्य गर्नुपर्ने थापाको भनाइ छ ।
उनले जनताको असन्तुष्टिको आगोमा घ्यु हाल्ने काम भइरहेको र त्यसलाई सरकार र राजनीतिक दलहरू मिलेर रोक्नुपर्ने बताए । ‘जुन गतिमा प्रगति हुन्छ परिवर्तन हुन्छ भनेको, भइरहेको छैन भनेर असन्तुष्टि छ । त्यो असन्तुष्टिलाई कसैले दुरुपयोग गर्न चाहिरहेका छन् । त्यो असन्तुष्टिबाट आक्रोश भएको छ । आक्रोशको आगो बलेको छ । त्यो आक्रोशको आगोमा कोही त्यहाँ घ्यु थप्न चाहिरहेका छन् । त्यो घ्यु थप्नेको अनुहार कस्तो छ, मलाई थाहा पनि छैन । मलाई हेर्नु पनि छैन ।’
उनले थपे, ‘जो आगोमा घ्यु हाल्छु भनेर आएको छ त्यसले त्यो घ्यु के गर्ला ? घ्यु आफैं खाला वा घ्यु दल्ला, मजाले बस्ला, चिन्ता किन गर्ने ?’ जनतामा देखिएको असन्तुष्टि कांग्रेस, एमाले, माओवादी मिलेर समाधान गर्नुपर्ने पनि उनको भनाइ थियो ।