काठमाडौं । आरआर क्याम्पसमा अनेरास्ववियुको किल्ला तोडिने डरले एमाले निकट विद्यार्थीहरूले स्वतन्त्र विद्यार्थीहरूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । शनिबा स्ववियु निर्वाचनको स्वतन्त्र विद्यार्थी समूहको प्यानलले पत्रकार सम्मेलन गरी सो आरोप लगाएको छ ।

स्ववियु निर्वाचनको स्वतन्त्र विद्यार्थी समूह प्यानलका सभापति पदका उम्मेदवार हर्क बहादुर बोहराले सदियौँदेखि सत्तासीन एमाले निकट अनेरास्ववियुको स्थायी किल्ला आफूहरूले भत्काउने बताए । बोहराले फागुन २८ गते आफ्ना प्यानलबाट सचिव पदका उम्मेदवार दीपक देवकोटासहितका विद्यार्थीहरूलाई भौतिक आक्रमण गरिनु निन्दनीय विषय भएको बताउँदै आक्रमणकारीहरूलाई कारबाहीको माग गरे ।
सामाजिक अभियन्ता हेमराज थापाले दलहरू र दल निकट विद्यार्थीहरूले स्वतन्त्रहरूको अस्तित्वलाई निषेध गर्ने हरकत निन्दनीय भएको बताए । राजतन्त्रलाई फालेर देशमा नयाँ व्यवस्था ल्याए पनि दलहरू तथा दलका भातृ सङ्गठनको चरित्र, प्रवृत्ति, चिन्तन, व्यवहार र स्वभावमा कुनै परिवर्तन नभएको आरोप लगाए । थापाले अनेरास्ववियुका विद्यार्थीहरूले हैकमवाद चलाएको बताउँदै भने, ‘केपी ‘बा’का छोरा र नातिहरूले आरआरमा मात्रै हैन देशै भरी ‘बा’ तन्त्र नत्यागे बङ्गलादेशबाट शेख हसिना लखेटे जस्तै: गर्नु नपरोस् ।’
अनेरास्ववियुबाट भौतिक आक्रमण भएका आरआर स्ववियु स्वतन्त्र पदका उम्मेदवार दीपक देवकोटाले एमाले अखिलले आफूहरूलाई भौतिक आक्रमण गरेकोमा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए । देवकोटाले आगामी चुनावमा अखिलको किल्ला ढाल्ने ठोकुवा गर्दै सबैलाई भोट हाल्न अपिल गरे ।
थापाथली क्याम्पस स्ववियु स्वतन्त्र सभापति पदका उम्मेदवार ईश्वर रेग्मीले दलगत सिन्डिकेट तोडेर स्ववियुलाई नितान्त शैक्षिक संस्थामा रूपान्तरण गर्ने बताउँदै सबै विद्यार्थीहरूलाई भोट हाल्न अपिल गरे ।
आरआर स्ववियु स्वतन्त्र समानुपातिक तर्फका उपसभापति पदका उम्मेदवार प्रकाश कपालीले आरआरबाट मात्रै नभएर देशभरिबाटै अखिलको दादागिरी र गुण्डागर्दीको अन्त्य गर्नु पर्ने बताए ।
आरआरकी पीडित छात्रा अप्साना बानुले संविधानले महिला हक अधिकारको प्रत्याभूति गरे ता पनि स्ववियुमा त्यसको लागु नहुनु दुर्भाग्य भएको बताइन । बानुले आरआरमा आफूहरूमाथिको आक्रमण निन्दनीय भएको बताउँदै पीडकमाथि अविलम्ब कारबाहीको माग गरिन् ।
स्वतन्त्र कोशाध्यक्ष पदका उम्मेदवार अनु शाही ठकुरीले स्ववियुलाई विद्यार्थी वास्तविक संस्था बनाउन स्वतन्त्रले जित्नुपर्ने धारणा राखिन् ।
आरआरका विभिन्न विद्यार्थीहरूको सहभागिता रहेको सो कार्यक्रमलाई स्ववियुको प्रत्यक्षतर्फका सदस्य पदका उम्मेदवार रेशम सापकोटाले सञ्चालन गरेका थिए ।
के थियो घटना ?
आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि काठमाडौं स्थित रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्वतन्त्र विद्यार्थी समूहले हर्कबहादुर बोहराको नेतृत्वमा प्यानल घोषणा गरेर प्रचारप्रसारमा लागेको थियो । सोही विषयमा फागुन २८ गते बिहान ८ बजे एमाले निकट अनेरास्ववियु आरआरका नीराजन भट्टको नेतृत्वमा १०-१२ जनाको समूहले स्वतन्त्र सचिव पदका उम्मेदवार दीपक देवकोटा, छात्रा अप्सना बानुलगायतमाथि निर्घात कुटपिट गरेका थिए ।
त्यस लगत्तै पीडितहरूले क्याम्पस प्रशासनमा गएर निवेदन दिए पनि प्रशासनले वास्ता नगरेपछि उनीहरू प्रहरीवृत्त कार्यालय सिंहदरबारमा उजुरी दिन पुगे तर प्रहरीले तत्काल उजुरी नलिएको पीडित बताउँछन् ।
विभिन्न दबाबपछि ३ घण्टापछि उजुरी लिए पनि पीडक आक्रमणकारीहरुलाई प्रहरी प्रशासनले पक्राउ नगरेको पीडितहरूको गुनासो छ । २०३६ सालदेखि निरन्तर एमाले अखिलको अखडा बन्दै गएको आरआर क्याम्पसमा अहिले पनि आफ्ना चुनौतीहरूलाई पाखा लगाउन एमाले अखिल हरेक हत्कण्डा चलाउँदै आएको पीडितहरूको गुनासो छ ।
आक्रमणमा संलग्न भट्ट एमाले निकट अनेरास्ववियुको सभापतिका उम्मेदवार लोकेश खड्का निकट हुन् ।