Logo
Logo

रास्वपाभित्र कुनै गुट-उपगुट छैन, सबै रवि गुट हो : डीपी अर्याल


2k
Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले पार्टीको केन्द्रदेखि वडासम्म एउटै गुट भएको बताएका छन् । उनले अझै २० वर्षसम्म पनि पार्टीमा यो गुट, त्यो गुट भन्ने नहुने बताएका हुन् ।

शनिबार रुपन्देहीको देवदह नगरपालिका–७ को पार्टी कार्यालय उद्घाटन गर्दै अर्यालले पार्टीमा कुनै गुट, उपगुट नभएको र पार्टी केवल रवि लामिछाने गुट भएको बताए ।

‘हाम्रो पार्टीमा कुनै गुट, उपगुट छैन । पार्टी केवल रवि लामिछाने गुट हो । उहाँले जुन अभियान लिएर हिँड्नुभयो, त्यसमा हामी सबै एकबद्ध छौँ’, उनले भने । उनले पार्टी सभापति अप्ठ्यारोमा परेको बेला पार्टीलाई जोगाउन सबैलाई एक ढिक्का राख्ने जिम्मेवारीमा आएको बताए ।

उनले पार्टी अझै पनि रवि लामिछानेको नेतृत्वमा रहेको स्पष्ट पारे । रविलाई ठुला दलहरूले प्रतिसोध राखेर फसाउन खोजेको भन्दै अर्यालले उनको ठाउँमा आफूले केही समय कार्यवाहक अध्यक्ष रूपमा पार्टी सम्हालेको जिकिर गरे ।

उनले रविले जनता समस्याहरू उठाउन थालेपछि एकपछि अर्को उचाइ लिएको ठुला दलहरू मन नपरेका कारणले सहकारी मुद्दामा डुलाएको आरोप लगाए । उनले रविलाई जति डुलाए पनि केही फरक नपर्ने बताए ।

उनले युवाहरूलाई विदेश जान बाध्य पार्ने पनि यिनै दलहरू भएको आरोप लगाए । उनले विकास निर्माण सुस्त भएको तथा जनताको समस्याहरू समाधान गर्ने तर्फ दलहरू ध्यान नदिएको उल्लेख गर्दै जनतामा चरम निराश हुने काम सरकारले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्