काठमाडौं । इजरायलले गाजामा हवाइ आक्रमण गरेको छ । सो आक्रमणबाट गाजामा तीन पत्रकारसहित ९ जनाको मृत्यु भएको छ । गाजा युद्धविरामबारे इजिप्टको कायरोमा वार्ता जारी रहँदा इयरायलले शनिबार राति गाजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गरेको हो ।

आक्रमणबाट ९ जना प्यालेस्टिनी नागरिकको मृत्य भएको हमासको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । समाचारमा जनाइएअनुसार मारिनेमध्ये तीनजना स्थानीय पत्रकार रहेका छन् । हवाइ आक्रमणमा परी दर्जनौ्ँ गम्भीर घाइते भएको बताइएको छ ।
इयरायली हवाई आक्रमण परी एउटा कार ध्वस्त भएको छ । रोयटर्सका अनुसार उक्त कारमा सवार रहेकाहरू एउटा च्यारिटी कार्यक्रममा जाँदैथिए । सोही कारमा केही रिपोर्टर र फोटो पत्रकार पनि सवार थिए । उनीहरू सबैको मृत्यु भएको प्यालेस्टिनी मिडियाहरूले जनाएका छन् ।
इयरायली सेनाले विज्ञप्ति जारी गर्दै बेइत लाहियामा दुई ‘आतंककारी’लाई निशाना बनाइएको जनाएको छ । सेनाले उनीहरु ड्रोनलगायतका उपकरणहरूल बोकेर गाडीमा छिरेको दाबी गरेको छ । त्यसकारण उनीहरू सेनाका लागि खतरा हुनसक्ने आँकनल गरेर आक्रमण गरेको इयरायली सेनाले प्रष्टीकरण दिएको छ ।
तर, हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयकी प्रमुख सलमा मारौफले सेनाको उक्त दाबीलाई अस्वीकार गरेकी छन् । उनले त्यहाँ इयरायली सेनाले भनेजस्तो उनीहरूलाई खतरा पैदा हुने गतिविधिमा पनि संलग्न नभएको बताएकी छन् ।
यसअघि इजरायलले शनिबार दिउँसो पनि गाजाको मध्य सहर जुहर एलदिकमा हवाई आक्रमण गर्दा दुईजनाको मृत्यु भएको थियो । हमासले इयरायलमाथि युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ । जनवरी १९ देखि युद्धविराम सुरू भएयता नै इजरायलले आक्रमण गरी १५० जना प्यालेस्टिनी नागरिकको हत्या गरेको हमासको आरोप छ ।
गाजामा युद्धविराम लम्ब्याउने वा यसअघिको सम्झौता अनुसार दोस्रो चरणको युद्धविराम सुरू गर्ने भन्ने विषयमा इजिप्टको राजधानी कायरोमा हाल छलफल भइरहेको समाचारहरुमा जनाइएको छ ।