काठमाडौं । संसद बैठकमा सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागिएको भन्दै तिव्र विरोध जनाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनीहरुले यसबारे सरकारको जवाफ मागेका छन् ।
देशको अर्थतन्त्र सुदृढ नभएको र जनताले न्यूनतम आवश्यकताको सुविधा पनि नपाइरहेका बेला पूर्वविशिष्टहरुलाई सुविधा थप्नु गलत हुने उनीहरुको भनाइ छ ।

बैठकमा बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीका लागि सुविधा दिन भनेर सरकारले कानुन बनाउन लागेको समाचार सुनेको भन्दै त्यसबारे सरकारले जवाफ दिनुपर्ने बताए । उनले भने, ‘पूर्वविशिष्टलाई सेवा सुविधा दिन लागेको भन्ने समाचार सही गलत के हो ? सभामुखमार्फत् नेपाल सरकारबाट जानकारीका लागि अनुरोध गर्दछु ।’
यस्तै, नेकपा माओवादी केन्द्रका हितराज पाण्डे र देवेन्द्र पौडेलले पनि पूर्वविशिष्टहरुको सेवा सुविधा बढाउने कुराको विरोध गरेका छन् । उनले देश ग्रे लिस्टमा परेको ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गर्ने भ्रष्टाचार सूचकांकमा सुधार नआएका बेला सरकारले पूर्वविशिष्टहरुको सेवा सुविधा बढाउन खोजेको भन्दै विरोध गरे । उनले त्यसको साटो जनताको पक्षमा प्रभावकारी काम गर्न सरकारलाई ध्यानाकर्षण गराए ।
यस्तै, नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पूर्वविशिष्टको सेवासुविधा सम्बन्धी विधेयक नल्याउन चेतावनी दिए । उनले राजनीति सेवा भएको भन्दै यसलाई सरकारी जागिरको पेन्सनजस्तो बनाउन नहुने बताए । सांसद ज्वालाले भने, ‘कुनै एउटा व्यक्ति एकपटक निर्वाचित भयो भने, कुनै पदमा गयो भने जिन्दगीभर उसले सुविधा पाउनुपर्ने, सरकारी जागिरको पेन्सनजस्तो राजनीतिलाई बनाउनु हुँदैन, राजनीति सेवा हो, अब यस्तो कुरा बन्द गरिनुपर्छ ।’ राज्यबाट सेवा सुविधा पाउने वर्तमान पदाधिकारी र सांसदहरुको पनि सुविधा घटाउन उनले प्रस्ताव गरे ।
सांसद ज्वालाले भने ‘पहिलो कुरा त सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिन ल्याएको विधेयक रोकिनुपर्छ । मन्त्रिपरिषदले निर्णय गरेर मनोमानी ढंगले जुन सुविधा दिइरहेको छ, त्यो सुविधा अन्त्य गरिनुपर्दछ ।’ पूर्वमन्त्रीसमेत रहेका ज्वालाले सांसदहरुको सुविधा घटाउने हो भने म आफू तयार बताए ।