
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्तले बाोल्दा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आपत्ति जनाएपछि लफडा भएको छ । विशेष समय लिएर बोल्दै गर्दा पन्तले शाहीले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले हस्तक्षेप गर्नुपर्यो ।
आफ्नो सम्बोधनमा पन्तले इतिहास कोट्याउँदै नेपालको राजतन्त्रको नकारात्मक चित्रण गरेका थिए । पृथ्वीनारायण शाह हुँदै राजा त्रिभुवनले गरेका गल्तीहरुका बारेमा बोल्दा शाहीले उठेर प्रतिवाद गरेपछि भनाभन भएको हो ।
राजा त्रिभुवन दिल्ली जाँदा विभिन्न ठाउँमा ‘रसरंग मच्चाउन थालेपछि भारतीय प्रधानमन्त्री नेहरुले नै आलोचना गरेको दाबी पन्तले गरेका थिए । उनले यस्तो बोलिरहँदा शाहीले उठेर बिना प्रमाण आधारहिन कुराहरू संसदमा नबोल्न चेतावनी दिए । पन्तले भने इतिहास पढेर आउन शाहीलाई सुझाव दिए ।
शाहीले भनेका थिए– ‘बिना आधार राजाहरूको विषयमा जथाभाबी बोल्न पाइन्छ ?’
पन्तले जवाफमा भने, ‘के बोल्न पाइन्छ मलाई थाहा छ । ‘इतिहास पढेर आउनुस् महोदय । जुम्लामा हाहु गरेर आएको जस्तो होइन । मसित बहस गर्ने भए पढेर आउनुस् ।’
शाहीले हस्तक्षेप गर्दै बोल्न खोजेपछि सभामुखले पनि शाहीलाई बोल्न समय नदिएको भन्दै बस्न आग्रह गरे । शाही नबसेपछि सभामुखले केहीबेर उनलाई सम्झाउन खोजे ।
पन्तले आफूलाई बोल्न डिस्टर्व गरिएको भन्दै यो समयको हिसाब गर्न सभामुख समक्ष माग गरे । सभामुखले पनि उनको माग अनुसार फेरि समय थप गरिदिए । अहिले संसद बैठक निरन्तर चलिरहेको छ ।