काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटा जलाएको आरोपमा राप्रपाका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को युवा संगठनका नेता निराजन बम हुन् ।

प्रहरीले उनलाई चितवनको भरतपुर विमानस्थलबाट पक्राउ गरेको हो । काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
शनिबार मकवानपुरको हेटौंडामा राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा उनले प्रचण्डको फोटो जलाएका थिए । सोक्रममा उनले ‘तपाइँहरुले यो मान्छेलाई त चिन्नुहुन्छ होला नि’ भन्दै प्रचण्डको फोटोमा आगो लगाएका थिए । कार्यक्रममा ‘गणतन्त्र’विरुद्ध नारा लगाइएको थियो ।