काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले अहिलेको व्यवस्था जनतालाई नभइ सिमित नेताहरुलाई चाहिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद शाहीले पछिल्लो १६ बर्षको अवधिमा अहिलेको व्यवस्थाले जनताको अवस्था परिवर्तन नभएको भन्दै सिमित नेताहरुलाई मिलेर खानलाई अहिलेको व्यवस्था चाहिएको बताएका हुन् ।
उनले प्रजातन्त्रसहितको राजतन्त्र आफुहरुको मुद्दा भएकाले राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था आवश्यक रहेको तर्क गरे । सांसद शाहीले अहिलेको व्यवस्थामा राष्ट्रपति र प्रधानमन्त्री जनताले नभइ सीमित सांसदहरूले चुनेको भन्दै हिम्मत छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन हुने व्यवस्थामा जान चूनौति दिए ।
त्यस्तै उनले बिभिन्न कालखण्डका हत्या प्रकरण देख्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको तर्क गरे । सांसद शाहीले निर्मला पन्तको हत्यारासमेत पत्ता नलाउन नसक्ने तर बाँदरमुडे घटना र शिक्षक मुक्तिनाथ अधिकारीलाई हत्या गर्नेहरु सांसद बनेर हिडिरहेको जिकिर गरे ।