काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल एयरलायन्स घाटामा हुनुको कारण बारे सरकारसंग प्रश्न सोधेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो भनेर प्रश्न सोधेका हुन् ।

‘अरू एयरलान्सले नाफा गर्ने, तर सरकारको नेपाल वायु सेवा निगम घाटामा जाने, नेपाल एयरलाईन्सले आफ्नो जहाज उडाउनै सकेको छैन् । वर्षौदेखि ती जहाजहरु थन्काईएको छ । आन्तरिक उडानका लागि भनेर चीनबाट ल्याईएका पाँच वटा जहाज थन्काएर राखिएको छ । ती जहाजलाई कि उडाउनुपर्यो, कि व्यवस्थापन गर्नुपर्यो । यत्तिकै ती जहाज थन्काएर सरकारले के सन्देश दिन खोजेको हो ?’, साहले प्रश्न गरे ।
अहिले नेपाल वायु सेवा निगमले कि त जहाज नै नउडाउने र उडाईएपनि फूल फेजमा नउडाएको साहको आरोप छ । उनले नेपाल एयरलाईन्सले जहाज उडाउनै पर्यो भनेपनि यात्रु नपाउने (चाप नभएको) ठाउँबाट उडाउने गरेको भन्दै आलोचना गरे । उनले नेपाल एयरलाईन्सको बेथितिबाट सरकारलाई राम्रै लाभ आएको हुनसक्ने आशंका व्यक्त गरे ।
‘यो सरकारले नेपाल एयरलाईन्सलाई डुबाएर कसलाई सेवा गर्न चाहेको हो ? हामीलाई जवाफ चाहियो ?’ उनले प्रश्न गरे । आज नेपाल वायु निगममा दुई थरिका मान्छेहरु हाबी भएको भन्दै एकथरीले एयरलाईन्सलाई राम्रोसँग सञ्चालन गर्नेहरुपनि रहेको तर अर्को समूह नेपाल एयरलाईन्सलाई आफ्नो स्वार्थमा बेच्नेहरुपनि रहेको टिप्पणी उनले गरे ।
उनले यसबारे सरकारको पोजिसन के हो भनेर प्रश्न सोधेका छन् । ‘यो सरकार कता हो ? एयरलाईन्स डुबाउन चाहेको हो कि बढाउन चाहेको ? नेपाल वायु सेवा निगमबाट फाईदा लिन चाहेको हो कि यसलाई बिक्री गरेर निजी वायुसेवा कम्पनीहरुबाट लाभ लिन चाहेको हो ?’, आजपा अध्यक्ष साहले प्रश्न गरे । उनले नेपाल वायु सेवा निगमले अहिले अन्तर्राष्ट्रिय फ्लाईटमा जम्मा चार वटा जहाजमार्फत उडान भरेको सुनाए । तर, वायु सेवा निगमसँग् १५ सय कर्मचारी रहेको तथ्यांक पेश गरे ।
उता, निजी सेवा प्रदायक हिमालययन एयरलाईन्सले पनि चार वटा जहाज उडान गर्ने तर कर्मचरी पाँच सयमात्रै रहेको साहले सुनाए । यस्तै, बुद्ध एयरले १६ वटा जहाज उडाउने गरेको र ७ देखि ८ सयमात्रै कर्मचारी रहेको र यति एयरलाईन्सले पनी १४ वटा जहाज उडाउँदा ७ सय कर्मचारी रहेको तथ्यांक पेश गर्दै नेपाल वायु सेवा निगममा कर्मचारी धेरै राखिएको तर त्यसको उपयोग नगरिएकोमा प्रश्न उठाए ।
उनले नेपाल वायु सेवा निगममा भएको अहिलेको बेथितिको विषयमा को सँग जवाफ माग्ने भन्दै प्रश्न तेर्साए । उनले नेपालको गौरवको रुपमा नेपाल वायु सेवा निगमको राम्रो होस भन्ने चाहेको र यसले नाफा गरोस् भन्ने चाहेको पनि आफ्नो मत राखे । उनले प्रविधि र जहाजको कमि रहेको पनि आवश्यकत्ता औंल्याए ।
उनले नियमित मर्मतसम्भार सी–चेक लगायतमा ठूलो हिनामिना भएको हुनसक्ने र महिनौंसम्म जहाज मर्मतसम्भारको लागि थन्किँदा ठूलो घाटा व्यहोर्नुपर्ने अवस्थाको अन्त्य चाहे । उनले जहाजहरुको सी–चेक नेपालमा किन हुन नसकेको हो भन्नेबारे पनि सरकारसंग जवाफ मागे । उनले हवाई भाडा बढाईएको विषयमा पनि आपत्ति जनाए ।
हवाई भाडा नियन्त्रण गर्न सरकार किन असफल भएको भन्दै उनले प्रश्न उठाए । साथै उनले विदेशमा कर्मचारीको हुने पोष्टिङमा समेत हुने गरेको अनियमितताको बारेमा प्रश्न उठाउदै नेपाल एयरलायन्सलाई युरोपियन युनियनले कालोसूचीमा राखेकोमा त्यसबारेमा सरकारले के गरिरहेको छ भन्ने बारेमा जवाफ माग गरेका छन् ।