Logo
Logo

गणतन्त्रवादी र राजावादीको एकैदिन प्रदर्शन, मुठभेडको खतरा 


13.4k
Shares

काठमाडौं । समाजवादी मोर्चा र दुर्गा प्रसाईँले एकैदिन काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । 

मोर्चाले गएको शुक्रबार पत्रकार सम्मेलन गर्दै चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने घोषणा गरेको थियो । 

मोर्चाले गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध प्रदर्शन आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रदर्शनका लागि मोर्चाले आफ्ना भातृसंगठन अन्तर्गतका कमिटीहरूलाई जिम्मा दिइसकेको छ ।

पछिल्लोसमय मोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको भन्दै त्यसविरुद्ध प्रदर्शनमा उत्रिएको हो । फागुन २५ गते पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा शाहको स्वगतका लागि त्रिभुवन विमानस्थलको गेटमा हजारौँ समर्थकले स्वागत गरेका थिए ।

 मोर्चाले प्रदर्शन तय गरेको चैत १५ मा मेडिकल व्यवसायी प्रसाईँले समेत काठमाडौंमा पूर्वराजाको पक्षमा आन्दोलन गर्ने घोषणा गरेका छन् । सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन समेत प्रसाईँले अपिल गरेका छन् ।

राजाको समर्थनमा र मोर्चाले गणतन्त्रको पक्षमा एकैदिन प्रदर्शन गर्ने भएपछि मुठभेडको अवस्था आउनसक्ने सुरक्षा संयन्त्रहरूको आशंका छ । मोर्चामा नेकपा माओवादीसहित चारवटा पार्टी सहभागी छन् ।

सुरक्षा संयन्त्रहरूले पछिल्लोसमय पूर्वराजा समर्थकहरूको गतिविधिलाई सुक्ष्म ढंगले निगरानी गरिरहेको जनाएको छ ।

प्रसाईँले सामाजिक सञ्जाल फेसबुकमार्फत चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘‘अब निर्णायक समय आउँदै छ, तयार रहौँ । यही चैत्र १५ गते देखाउनु छ देश बेचुवाहरूलाई राष्ट्रभक्तिको शक्ति एक हौँ ।’

उनले प्रदर्शनका लागि सम्पूर्ण बैंक, सहकारी, लघुवित्तपीडित, सहकारीमा बचत डुबेका पीडित बचतकर्ताहरूलाई समेत प्रदर्शनमा आउन अपिल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्