काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विभिन्न ६ जनाले भ्रष्टाचार तथा आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्ति जफत गर्ने निर्णय गरेका छन्।
सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने निर्णय भएको हो।

आपराधिक गतिविधिबाट सरिता गिरी राय (भारतीय नागरिक)ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ।
गृह मन्त्रालयको कानून महाशाखाका प्रमुख, सह–सचिव भरतमणि रिजालले मन्त्री लेखकले २ दिनअघि निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको जानकारी दिए।
सर्वोच्च अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएकामा जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाइएको उनले बताए।
जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारका नाममा ल्याउने कानूनले दिएका दुवै विकल्पअनुसार प्रक्रिया अगाडि बढ्नेछ।
भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा भने सरकारका नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गर्ने व्यवस्था रहेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले जनाएको छ।