काठमाडौं, २३ असार ।
नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो ।
बरियता र कार्यक्षमताका आधारमा उनलाई नियुक्त गरिएको सरकारले जनाएको छ । उनले आगामी २२ महिना प्रहरीको नेतृत्व गर्ने छन। क्षेत्री प्रहरीका विवादरहित अधिकृत हुन् तर कमाण्ड क्षमतामा कमजोर रहेको कतिपयले टिप्पणी गर्दछन् । इन्सपेक्टर भर्नामा पनि उनले पहिलो नम्बरमा नाम निकालेका थिए ।
२७ औं प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले बुधबार बेलुकादेखि अवकाश पाउन लागेकाले उनी नियुक्त भएका हुन् । क्षेत्रीले बिहीबारदेखि प्रहरी नेतृत्व सम्हाल्नेछन् ।
आईजिपी बढुवामा उनीसँगै एआईजी हरि पाल पनि थिए । पालले क्षेत्रीलाई सहयोग गर्ने बताएका छन् ।