Logo
Logo

नेपाल प्रहरीले आजबाट नयाँ आईजी पाउँदै, दीपक थापाको सम्भावना प्रबल


22.8k
Shares

काठमाडौं । सरकारले आज नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्दैछ । त्यसका लागि आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

उक्त बैठकले नेपाल प्रहरीमा आज राति १२ बजेबाट रिक्त हुने र भोलि बहाली हुनेगरी ३१औँ आईजी नियुक्त गर्ने तयारी रहेको छ । तर, सरकारले नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) चयन नगर्दै बहालवाला आईजीपीसहितका उच्च अधिकृत आज बिदा हुँदैछन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले त्यही समयमा आईजी वसन्तबहादुर कुँवरसहितका उच्च अधिकृतको बिदाई कार्यक्रम तय गरेको केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले बताए । उनीहरू प्रहरी सेवा नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश हुन लागेका हुन् ।

मन्त्रिपरिषद्ले नयाँ आईजी नियुक्त गरेपनि दज्र्यानी चिह्न (फुली) लगाएपछि मात्रै पदभार सम्हाल्ने प्रचलन छ । बिदा हुने आईजीले जनपद प्रहरी समूहतर्फका वरिष्ठतम एआईजीलाई आफ्नो कार्यभार बुझाउने प्रचलन छ ।

वर्तमान आईजी कुँवर र उनका व्याचीको बिदाइपछि एआईजी दीपक थापा वरिष्ठतम एआईजी रहन्छन् । नयाँ आईजीको प्रतिस्पर्धामा दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी छन् । उनीहरु तीनैजना २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका हुन् । सम्भवतः मन्त्रिपरिषदको बैठकले थापालाई भावी आईजी नियुक्त गर्नेछ ।

एआइजीहरु टेकप्रसाद राई, बुद्धिबहादुर गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि आजै बिदाइ हुँदैछन् । डीआईजीहरुमा गण्डकी प्रहरी प्रमुख ध्रुवबहादुर रावल, सुदूरपश्चिम प्रहरी प्रमुख गणेश चन्द, उपत्यका प्रहरीका ट्वाइसी ध्रुव राउत पनि आजै बिदा हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्