
काठमाडौं । आन्तरिक राजस्व कार्यालय विराटनगरले विराटनगरका उद्योगी तथा एमाले नेता मोतीलाल दुगडका तीन कम्पनीलाई कर तिर्न ताकेता गरेको छ ।
राजस्व कार्यालयले गत फागुन २० गते सार्वजनिक सूचना जारी गर्दै दुगडको एसिया केमिकल कम्पनी प्रालि विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ र विराटनगर २ मा रहेको ह्यारिसन प्यालेस प्रालिलाई कर दाखिला गर्न १५ दिनको समय दिएको हो ।
एसियन केमिकल कम्पनीको आयकर तिरिएको छैन । त्यसैगरि ह्यारिसन प्यालेस र एसियन केम प्रालिले मूल्य अभिवृद्धि कर नतिरेको सूचनामा उल्लेख छ । तोकिएको मितिभित्र कर दाखिला नभए सबै कानुनी व्यवस्थाहरुको कार्यान्वयन गरि बक्यौता असुली काराबहीको प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ ।
‘तोकिएको मितिभित्र बक्यौता दाखिला नभएमा मूल्य अभिवृद्धिकर बक्यौताको हकमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ (संशोधनसहित)को दफा २१ को उपदफा (१) मा गरिएका व्यवस्था तथा आयकर बक्यौताको हकमा आयकर ऐन, २०५८ को दफा १०४ देखि दफा १११ सम्मका कुनै वा यहोरासमेत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
दुगड पूर्वमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार पनि हुन् । २०७७ सालमा प्रधानमन्त्री हुँदा ओलीले उनलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए ।
