काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँ निरन्तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच लगातार वाकयुद्ध हुन थालेको छ । पर्यटन व्यवसायमा संलग्न रहेका बजागाईँले पाण्डेलाई सामाजिक सञ्जालमा मात्र होइन पार्टीभित्र पनि जेहाद छेड्न थालेका छन् । सामाजिक सञ्जालमात्र होइन, संसद्मा समेत मन्त्री पाण्डेविरुद्ध बजागाईँ केन्द्रित भएका छन् । त्यतिले नपुगेर सांसद बजागार्इँले मन्त्री पाण्डेलाई कारबाही गर्नुपर्ने भन्दै पार्टीमा निवेदन नै दिएका छन् ।

केही महिनायता मौन रहेका बजागाईँ अहिले फेरि मन्त्री पाण्डेविरुद्ध उभिएका छन् । ‘पर्यटन क्षेत्रमा केही न केही समस्या देखिएकै कारण बजगाईँले मन्त्री पाण्डेलाई आरोप लगाउन थालेका हुन्, उनीहरुको पार्टीभित्र पनि समस्या होला’, एक पर्यटन व्यवसायीले भने । उनीहरु दुवै कांग्रेसभित्र शेखर समूहका हुन् । उनीहरुबीच क्यासिनोको लाइसेन्स वितरण, नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक हटाउने कि राख्ने तथा पर्यटन बोर्डको कार्यकारी अधिकृत नियुक्तिको विषयमा विवाद बढ्दै जाँदा अहिले सार्वजनिक तहमै गालीगलौजको अवस्था बनेको हो ।
पार्टीको अनुशासन समितिमा कारबाहीका लागि निवेदन दिएर नै उनले मन्त्री पाण्डेविरुद्ध विरोधको दोस्रो चरण सुरु गरेका हुन् । यसअघि पनि उनले पाण्डेविरुद्ध कारबाहीका लागि संसदीय दलमा निवेदन दिएका थिए । त्यतिबेला नेता डा. शेखर कोइरालाको मध्यस्थतामा निवेदन फिर्ता लिएका थिए । तर अहिले विषयवस्तु के हो भन्ने नखुलाई पदीय दुरुपयोग गरेको आरोप लगाएका छन् ।
बजागाईँले २८ फागुनमा मन्त्री पाण्डेले पदीय दुरुपयोग गरेको भन्दै कारबाहीको माग गरेर पार्टीमा निवेदन दिएका थिए । त्यसो त मन्त्री पाण्डेले आफूविरुद्ध सामाजिक सञ्जालमार्फत अभियान नै चलाएको आरोप पनि लगाएका छन् । त्यतिमात्र होइन, मन्त्री पाण्डेले नेपालको राष्ट्रिय हितलाई प्रत्यक्ष रूपमा कमजोर पार्ने निर्णय लिएको गम्भीर आरोपसमेत बजागाईँले लगाएका छन् । त्यो राष्ट्रिय हितलाई कसरी कमजोर पारियो भन्नेबारेमा कहीँकतै उल्लेख छैन ।
अहिले कारबाहीका लागि औपचारिक रूपमा पार्टीको अनुशासन समितिमा निवेदन दर्ता गराएपछि बजागाईँ र पाण्डेको खासमा के समस्या हो भन्ने विषयमा चासो बढेको छ । बजागाईँले पाण्डेलाई मन्त्रीबाट हटाउनुपर्ने तर्क पनि गरेका छन् । ‘योजनाबद्ध ढंगले बद्री पाण्डेले नेपाली स्वामित्वको कम्पनीलाई विभाजित गरेका छन्, कानुनी प्रक्रिया उल्लंघन गर्दै जथाभावी क्यासिनोको इजाजतपत्र वितरण गरेका छन् र अदालती फैसलालाई चुनौती दिने प्रयास गरेका छन् । यसले अदालतको अवहेलनासँगै कानुनी शासनमाथि पनि प्रहार गर्दछ’, बजागाईँले भनेका छन् ।
त्यतिमा मात्रै सीमित नभई बजागाईँले मन्त्री पाण्डेप्रति टिप्पणी गरेका छन्, ‘मिडिया प्रचारबाजीमा मात्र सीमित नरही पाण्डे आन्तरिक रूपमा पनि सक्रिय छन् । उनले पार्टी नेतृत्वलाई प्रभावमा पार्दै अनुशासन समिति प्रयोग गरेर मलाई लक्षित कारबाही गराउने प्रयास गरिरहेका छन् । मलाई दबाउने, आलोचनात्मक आवाजलाई थुन्ने र आफ्नै नियन्त्रण मजबुत बनाउने उनको यो रणनीति केवल एउटा व्यक्तिगत बदनाम गर्ने अभियान मात्र होइन, यो त सत्ताको दुरुपयोग गर्दै भ्रष्टाचारको विरोध गर्नेहरूलाई दबाउने संगठित षड्यन्त्र हो ।’
खासमा मन्त्री पाण्डे र सांसद बजागाईँबीच आर्थिक एजेन्डासँग जोडिएको मुद्दाले विवाद निम्त्याएको हो । उनीहरूनिकट स्रोतका अनुसार क्यासिनो विवादमा पनि बजागाईँ प्रत्यक्ष जोडिएका छन् । बजागाईँले लिन चाहेको भैरहवाको एक रिसोर्टको क्यासिनो अर्कैले पाएपछि बजागाईँ आक्रोशित भएका हुन् । पर्यटन विभागले उक्त निर्णय पाण्डे मन्त्री भएपछि नै गरेको हो ।
बजागाईँ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउन चाहन्थे । सुरुका केही महिना मन्त्री पाण्डेले उक्त प्रयास गरेका पनि थिए । तर, अन्तिममा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली नै अधिकारीको पक्षमा लागे, जसले गर्दा मन्त्री पाण्डे निरीहजस्तै भएका थिए । त्यसमा पनि बजागाईँ खुलेर पाण्डेको विरोधमा देखिएका थिए ।
नेपाल पर्यटन बोर्डको सिइओ दीपकराज जोशीका सन्दर्भमा पनि बजागाईँ र मन्त्री पाण्डेको धार फरक परेको थियो । मन्त्री पाण्डेले जोशीलाई अघि सारेका थिए । बजागाईँ जोशीको विपक्षमा थिए । जोशीले बोर्डमा बोल्ड निर्णय गर्न नसक्ने भन्दै बजागाईँ नयाँ व्यक्तिको पक्षमा उभिएपछि झन् द्वन्द बढेको थियो ।
सगरमाथा निकुञ्ज क्षेत्रमा हेलिकोप्टर उडानको सन्दर्भमा पनि बजागाईँको मत फरक थियो । उनी पालिका, स्थानीय सुरक्षा निकाय र राष्ट्रिय निकुञ्जले संयुक्त रूपमा सगरमाथा क्षेत्रमा आपत्कालीनबाहेक हेलिकप्टर उडानको विरोधमा थिए र निर्णयसहित प्राधिकरणलाई पत्र पठाएका थिए । तर, प्राधिरकरण हेलिकप्टर मालिकको पक्षमा उभिएको थियो । बजागाईँ भने मन्त्री पाण्डे र अधिकारीलाई एकसाथ प्रहार गर्न सकिने भन्दै उक्त निर्णयको पक्षमा उभिएका थिए ।