काठमाडौं । जिल्लाको विभिन्न नाकाहरू प्रयोग गरी भारतबाट चोरी पैठारी गरी ल्याउने गरिएको तस्करीको सामानहरू नियन्त्रणमा लिन बारा प्रहरीलाई चुनौती बनेको समाचार बाहिर ल्याएर आन्तरिक रुपमा बारामा तस्करीको लाइन खुला भएको स्रोतले जनाएको छ । नाकाहरूमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतहरू र जवानहरूलाई माथिबाटै निर्देशन दिएर लाइन खुला गरिएको स्रोतले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कलैयाबाट खटिने प्रहरी टोलीले बाटोबाट तस्करको सामान नियन्त्रणमा लिन खोज्दा तस्करहरूले प्रहरी टोलीलाई माथिको आदेश भन्दै आक्रमण गरेर भाग्ने गरेको समेत छन् । केही दिनअघि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतबाट ५-७ वटा मोटरसाइकलमा राखेर नेपाल ल्याउदै गरेको भन्सार छली गरेको कपडालाई सिम्रौनगढ नगरपालिकाको अमरपुर नाकाबाट नियन्त्रणमा लिन खोज्दा माथिको आदेशकै कारण छाड्नु परेको थियो ।
गत माघ अन्तिम हप्तातिर मटिअर्वा नाकाबाट भन्सार छलीको खाद्यान्न सामग्री ६÷७ वटा मोटरसाइकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा जिल्लाबाट खटिएको प्रहरी टोलीले धर्मनगर गाउँ भन्दा उत्तरतर्फ रहेको पिपर बोट नजिकै सडकमा त्यसलाई नियन्त्रण लिन खोज्दा तस्कर समूहले प्रहरीसँग झडप गरेर भाग्न सफल भएको । सीमा क्षेत्रको प्रहरीले माथिको आदेश भन्दैछाडिदिएपछि बीचमा आएर सामान बरामद गर्ने प्रहरीचाहि आक्रमणमा परेको थियो ।
तस्करसँगको झडपमा जिल्लाबाट खटिएका प्रहरी टोली पर्ने गरेको तर सीमा चेकजाँच गर्ने र माथिल्लो तहका हाकिमहरुको चाहि मिलेमतो हुने गरेको स्रोतको दावी छ । नाकाबाट तस्करहरूले भन्सार छली गरेर ल्याउने मालसामानलाई नियन्त्रण लिने प्रहरीमाथि तस्करहरूले आक्रमण गदै आएका छन ।
केही दिन अघि होली पर्वको मौका छोपेर तस्कर समूहहरूले बाराका नाकाहरू प्रयोग गरी भारतबाट भन्सार छली गरेर नेपाली बजारमा खपत हुने खाद्यान्न, कपडा, कस्मेटिक सामग्री लगायतको माल बस्तुहरूलाई ढुवानी गराउने मोटरसाइकललाई नै ढुवानीको माध्यम बनाएका थिए । जिल्लामा रहेका कचोर्वा, पथालवाघाट, खजानीबाट बेल्दारी ,बैरिया नाकाहरूबाट भोला साह, मास्टर, प्रदिप , अरबिन्द , संदिप , बच्चा, बलिराम नाम गरेका तस्करहरू सक्रिय रहेका छन् ।
सक्रिय रहेका यी तस्करहरू माध्ये कोही खाद्यान्न सामाग्री त कोही कस्मेटिक र केही मेसिनरी पार्टपुर्जा लगायतको माल बस्तुहरूलाई भन्सार छलेर सिम्रौनगढ क्षेत्रमा ल्याउने गरेको स्रोतको दावी छ । पिपरपाती, सन्तगंजर, सन्फुलवा, दक्षिणझिटकैया नाकाहरूबाट खेना, बिकास लगायतका तस्करहरू सक्रिय रहेका छन् ।
त्यसैगरी मटिआर्वा नाकाबाट बीरेन्द्र केशरी, छतवा, मुसहर्वा नाकाहरूबाट चन्दन, सरोज, लगायतको नाकाहरूबाट अहिले दैनिक जसो भन्सार छली गरेर तस्कर समूहहरूले माल बस्तुहरूलाई ल्याउने गरेका छन् । भन्सार छली गरेर भित्र्याइने सामानहरूलाई तस्करहरूले सीमावर्ती गाउँ र नजिक पर्ने बजारहरूमा लगेर भण्डारण गर्ने र पछि देशका विभिन्न भागहरूमा पठाउने गर्ने गरेका छन् ।्
भारतबाट भन्सार छाली गरी भित्र्याइएका मेसिनरी पार्टस, ईलेक्ट्रनिक्स सामग्री सुर्ती, चिनी, कपडा,गुटखा, खाद्यान्न लगायतका माल बस्तुहरूलाई नियन्त्रण कार्यमा जिल्लाबाट प्रहरी परिचालन गरिएको भनिएपनि यसको कुनै अर्थ नभएको ती प्रहरीले बताएका छन् ।
बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले नेतृत्व गर्दै आएका छन् । तामाङ जानुअघि त्यहाँ निमित्त कमाण्ड गरिरहेका डिएसपी प्रकाश रानाभाटले सीमा क्षेत्रमा मोलमोलाई गरेर करिब ५० जना सिपाहीको सरुवा गरेका थिए ।