
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदनको प्रारम्भिक मस्यौदामा छलफल हुनेछ । उजुरी अध्ययनको विषय पनि छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्यप्रगतिलगायत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।
त्यसैगरी, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल हुनेछ ।
दिउँसो २ बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।