काठमाडौं । बीवाईडीले विद्युतीय सवारीसाधन (ईभी)मा सुपर चार्जिङ प्रविधि ल्याएको छ ।
कम्पनीका संस्थापक वाङ चुआनफुले शेन्जेन मुख्यालयबाट लाइभस्ट्रीम गरिएको कार्यक्रमका क्रममा बताएअनुसार, ‘सुपर ई–प्लेटफर्म’ भनिने नयाँ प्रणालीमा एक हजार किलोवाटको अधिकतम चार्जिङ गति हुनेछ । यस प्रणाली प्रयोग गर्ने कारहरूले मात्र पाँच मिनेटको चार्जमा चार सय किलोमिटर (२४९ माइल्स) यात्रा गर्न सक्नेछन् ।

एक हजार किलोवाटको चार्जिङ गति टेस्लाका सुपरचार्जरहरूको भन्दा दोब्बर छ, जसको पछिल्लो संस्करणमा अधिकतम ५०० किलोवाट चार्जिङ क्षमता छ । छिटो चार्ज हुने प्रविधि ईभी अपनाउने दर बढाउनका लागि महत्त्वपूर्ण मानिन्छ ।
नयाँ चार्जिङ संरचना सुरुमा दुई नयाँ ईभीमा उपलब्ध हुनेछ( हान एल सेडान टाङ एल एसयूभी जसको मूल्य २ लाख ७० हजार युआन (३७ हजार ३२८.९१ डलर) बाट सुरु हुनेछ ।
साथै बीवाईडीले नयाँ प्लेटफर्मसँग मेल खाने गरी चीनभर ४ हजारभन्दा बढी अल्ट्रा–फास्ट चार्जिङ पाइलहरू (चार्जिङ युनिटहरू) निर्माण गर्ने बताएको छ ।
तर कम्पनीले यस्ता सुविधाहरू निर्माण गर्न कति लगानी गर्ने र कहिलेसम्म पूरा गर्ने भन्ने बारे कुनै ठोस समयसीमा उल्लेख गरेको छैन । हालसम्म बीवाईडी चलाउनेहरूले अन्य कार निर्माताहरूका चार्जिङ सुविधाहरू वा तेस्रो पक्षको सार्वजनिक चार्जिङ पोलहरूमा भर परेर गाडी चार्ज गर्दै आएका छन् ।