काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले अहिले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल अघि नबढेको स्पष्ट पारेको छ ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले हालको सरकार र नेपालको गणतान्त्रिक व्यवस्थाकाबारे पार्टीको धारणा स्पष्ट पारेका हुन् ।
उनले भने, ‘झन्डै ९० प्रतिशत भन्दाबढी जनताको प्रतिनिधिबाट बनेको हालको संविधानले बनाएको व्यवस्थाभन्दा अरू कुनै विषयको परिकल्पना समेत गर्न नहुने कांग्रेसको धारण हो, यसमा कुनै दुबिधा छैन । यो व्यवस्थामा केही कमीकमजोरीहरू छन् भने यही सरकारले सुधार्नुपर्छ, अब हामी १० गते कार्यसम्पादन समितिको बैठक बस्छौँ र समग्र विषयमा छलफल गर्छौँ ।’
त्यस्तै सर्वदलीय सरकार बनाउने विषयमा हालसम्म कांग्रेससँग कुनै छलफल नभएको समेत प्रवक्ता महतले जानकारी गराए। ‘हालसम्म कांग्रेससँग सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन । त्यस्तो कुरा उठेको पनि छैन,’ उनले भने ।
नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलहरू पनि अहिलेकै संविधानको रक्षाका पक्षमा रहेको भन्दै सत्तामा आउनेबारे कुनै छलफल नभएको उनले बताए ।
‘अहिले विपक्षमा रहेका माओवादीलगायतका दलहरू पनि अहिलेकै संविधानको रक्षाका पक्षमा छन् । जुन गणतान्त्रिक व्यवस्था संविधानले व्यवस्था गरेको पक्षमा छन्,’ महतले भने, ‘सरकारमा आएपछि यो पक्ष बलियो हुने र नआउँदा कमजोर हुने भन्ने छैन । यो इस्यूमा सबै एकै ठाउँमा छन् ।’