
काठमाडौं । संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालसहितलेदायर गरेको १४ वटा रिटमाथि सुनुवाइका लागि सर्वोच्चको संवैधानिक इजलासमा पेसी तोकिएको हो ।
यसअघि सर्वोच्चको संवैधानिक इजलासमा फागुन २१ गते रिट निवेदकका तर्फबाट ७ अधिवक्ताले बहस गरेका थिए । दोस्रो दिन पनि बहस नसकिएपछि रिट ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि पेसी तोकिएको थियो ।
निवेदकका तर्फबाट २४ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका छन्। त्यस्तै सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जना बहसका लागि तयार पारिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।
अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूमा ५२ जनालाई गरेको नियुक्ति गैरकानुनी रहेको दाबी गरिएको छ । २०७७ पुस १ गते वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालसहितले ५२ जनाकै नियुक्ति गैरकानुनी भन्दै बदर गर्न माग गर्दै १४ वटा निवेदन दर्ता गरेका थिए।