कैलाली । कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमालेनिकट अनेरास्ववियु निल भएको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ७ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेविसंघ चार क्याम्पसमा विजयी भएको छ ।

सार्वजनिक परिणामअनुसार माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले तीन क्याम्पसमा बिजय भएको छ भने नेकपा एमालेनिकट अनेरास्ववियु कुनै क्याम्पसमा विजयी हुन सकेन ।
नेविसंघले प्यानलसहित धनगढीको फूलबारी बहुमुखी क्याम्पसमा (भुवन जोशी), भजनीको मोहन्याल बहुमुखी (झंकर बुढा), जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा (रञ्जित परियार) र टिकापुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा (गोपाल खत्री) जितेको छ ।
मतगणना जारी रहेको धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा पनि नेबिसंघकै अग्रता रहेको छ ।
यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले लम्की बहुमुखी क्याम्पस (तपेद्र प्याकुरेल), बुलबुले बहुमुखी क्याम्पसमा(विवेक चौधरी) र सुखडको राष्ट्रिय कलेजमा (सुन्दर गौतम) विजयी भएका छन् ।
यसैगरी चौमाला बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले १५५ बराबर ल्याएका छन् । त्यहाँ नेविसंघले पुनःमतगणना हुनुपर्ने माग गरेको छ । घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया बहुमुखी क्याम्पसमा तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेको छैन ।