Logo
Logo
अन्तर्वार्ता

‘राजतन्त्रको अत्याचार जनताले भुलेका छैनन्’


झलनाथ खनाल, सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)

441
Shares

संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारको कार्यशैलीका कारण जनता निराशा र आक्रोशित छन् । सरकारी कार्यशैलीप्रतिको जनआक्रोशलाई राजावादीहरूले व्यवस्थाविरोधी हतियारको रूपमा प्रयोग गर्न खोजेका छन् । सरकारको निरङ्कुश सोचका कारण विकृति, विसङ्गति र भ्रष्टाचार बढेको छ । अर्थतन्त्र चलायमान हुन सकेको छैन । रोजगारी सिर्जना हुन नसक्दा बिदेसिनेको सङ्ख्या बढ्दो क्रममा छ । सरकारको जनहित विपरीतका गलत क्रियाकलापले प्रतिगामीहरूलाई सहयोग पुगिरहेको छ ।

राजावादीहरू सलबलाएको बेला गणतन्त्रको पक्षमा पनि जनप्रदर्शनको तयारी भइरहेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्मिलित समाजवादी मोर्चाले प्रतिगामी र पुनरुत्थानवादी तत्त्वको सशक्त प्रतिवाद गर्न भन्दै यही चैत १५ गते काठमाडौंमा जनप्रदर्शनको निर्णय गरेको छ ।

समाजवादी मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा गम्भीर चुनौती देखा पर्दै गएको ठहर गरेको छ । मोर्चाले सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धमा केन्द्रित रहेका कारण भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त बनेको, नेपाली जनताको जनजीविका कहालीलाग्दो अवस्थामा पुगेको आरोप लगाएको छ ।

राजावादीहरूको सक्रियता, राजतन्त्रको सम्भावना, गणतन्त्रको भविष्य, सरकारको कार्यशैली, समाजवादी मोर्चा र एकीकृत समाजवादीको रणनीतिलगायतका विषयमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।

पछिल्लो समय राजावादीहरू सक्रिय भएका छन् । नेपालमा फेरि राजतन्त्रको सम्भावना छ ?
नेपालबाट राजतन्त्र कुनै व्यक्ति, गुट वा नेताको इच्छाले मात्र समाप्त भएको होइन । तीन करोड जनताले निर्वाचित गरेको नेपालको संविधान सभाको ऐतिहासिक बैठकको निर्णयअनुसार नेपालको राजतन्त्रलाई उन्मूलन र गणतन्त्र नेपालको घोषणा गरिएको हो । यो नेपालको जननिर्वाचित संविधान सभाले गरेको ऐतिहासिक निर्णय हो । यो ऐतिहासिक निर्णय विदेशीको इसाराबमोजिम पैसा र प्रलोभनबाट खडा गरिएको वा गरिने भीडको असंवैधानिक, जनविरोधी, यूगविरोधी र लोकतन्त्रविरोधी प्रलापहरूबाट बदलिनेवाला छैन ।

यो नेपाली जनताले नेपाल राष्ट्रको दीर्घ भविष्यलाई समेत विचार गरेर गरेको निर्णय हो । अब नेपालमा जहिलेसम्म नेपाल राज्य रहने छ, त्यसबेलासम्म गणतन्त्र रहने छ । यसलाई कुनै स्वदेशी/विदेशी षडयन्त्र र प्रपञ्चबाट कसैले हल्लाउन सक्दैन । यो गणतन्त्र आज पुँजीवादी गणतन्त्रका रूपमा छ, यो अझ अघि बढेर समाजवादी गणतन्त्रमा रूपान्तरण हुनेछ । तर इतिहासले कूडा करकट बनाएर फ्याकी सकेका तत्वहरूलाई कुनै मतिभ्रष्ट, स्वार्थी र विदेश परस्त शक्तिहरूको क्षणिक वितण्डाबाट पुनःस्थापना गर्न सम्भव छैन ।

राजावादीहरू सलबलाउने बित्तिकै आत्तिनुपर्ने गणतन्त्रको जग यति कमजोर हो ?
गणतन्त्र कमजोर जगमा स्थापना भएको होइन । २००६ सालदेखि नेपाली जनताको सपना हो गणतन्त्र । त्यसका लागि नेपाली जनताले धेरै त्याग गरेका छन् । वीर शहीदहरूको योगदान हामीले भुल्नु हुँदैन । निरङ्कुश राजतन्त्रले हिजो गरेका अन्याय, अत्याचार नेपाली जनताले भुलेका छैनन् । गणतन्त्रमा काम गर्ने तौरतरिका मिलेन होला । शासन सत्तामा भएकाले राम्रो काम गर्न सकेनन् भने निर्वाचनमार्फत उनीहरू पराजित हुनेछन् । र, नयाँ नेतृत्व स्थापित हुन्छ । हामी नयाँ युगमा प्रवेश गरिसकेका छौँ । त्यसबाट पछि फर्किने अवस्था छैन । त्यसकारण गणतन्त्र नेपाल सगरमाथा झैँ अडिग र अटल भएर रहने छ । छिछिमिराहरू निस्केर उड्दैमा जसरी देबल ढल्न सक्दैन, केही मतिभ्रष्ट युगविरोधी तत्वहरूको सल्बलाहटबाट यो तीन करोड नेपालीको रगत पसिनाबाट सिर्जित गणतन्त्रको देबल पनि डग्मगाउन सक्दैन ।

जसरी व्यवस्था परिवर्तन भयो, जनताको अवस्थामा परिवर्तन हुन नसकेको त हो नि ?
गणतन्त्रका निम्ति निरन्तर २००६ सालदेखि संघर्ष गर्दै आएर २०६५ सालमा गणतन्त्र स्थापना गर्न सफल भइयो । हामीले यो देशमा गणतन्त्र घोषणा गरेको १६ वर्ष भएको छ । यो लामो अवधिमा देशमा व्यवस्था मात्र होइन जनताको सामाजिक–आर्थिक अवस्थालाई नै बदल्न सक्नुपर्ने थियो । क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति, कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्नुपर्ने थियो । भूमिहीन र गरिब किसानलाई जमिनका मालिक बनाउनुपर्ने थियो । शिक्षा, स्वास्थ्यमा आमूल परिवर्तन गर्नुपर्ने थियो । राष्ट्रिय औद्योगिकीकरण लहर सिर्जना गर्नुपर्ने थियो ।

देशमा व्यापक रूपले रोजगारी सृजना गर्नुपर्ने थियो । युवाहरूलाई स्वदेशमै काम पाउने व्यवस्था गर्नुपर्ने थियो । भ्रष्टाचारलाई जरैदेखि उखेल्न राष्ट्रव्यापी अभियान चलाउनुपर्ने थियो । देशको सिमानाको रक्षा गर्न दृढ हुनुपर्ने थियो । राष्ट्रियतामाथि भइरहेका गलत क्रियाकलापविरुद्ध दृढ भएर उभिनुपर्ने थियो । प्रतिगमनका आधारहरूलाई जरैदेखि उन्मूलन गर्नुपर्ने थियो । तर, गणतन्त्रवादी शासकहरूका तर्फबाट उपरोक्त कामहरू केही पनि हुन नसक्नुका कारणले आज जनतामा असन्तोष, विरोध, निराशा र आक्रोश फैलिएको छ । यी ठूला पार्टीका शासकहरू प्रति अहिले जनता क्रुद्ध बनेको स्थिति छ । यही कुराबाट फाइदा उठाउँदै राजतन्त्रवादीहरू हिजोका जल्लादहरूलाई फूलको वर्षा गरेर पवित्र घोषित गर्दै पुनः वंशगत शासन ल्याउन सकिन्छ कि भनेर सडकमा निस्कन थालेका छन् ।

गणतन्त्रभन्दा राजतन्त्रमा राम्रो थियो भन्ने दाबी राजावादीहरूको छ नि ?
नेपाली जनताले सुखानी हत्याकाण्ड, इभाङ हत्याकाण्ड, भिमान हत्याकाण्ड र खोकु छिन्ताङ हत्याकाण्डलाई बिर्सेका छैनन् । पिस्कर हत्याकाण्ड बिर्सेका छैनन् । पोखरामा भएको नमिता, सुनिता हत्याकाण्ड त झनै बिर्सेका छैनन् । पञ्चायतकालमा देशैभरि भएका यी हत्याकाण्डका नाइके त्यसबेलाका राजा र अधिराजकुमारहरू हैनन र ? दरवार हत्याकाण्डका मतियारहरू यिनीहरू आफै होइनन् ? १९ माघको सत्ता पलट गरेर देशलाई कालरात्रीतिर जबर्जस्ती धकेल्ने तानासाही यिनै ज्ञानेन्द्र शाह होइनन् र ? त्यस बेलाको संविधानलाई कुल्चिने र देशमा तानासाही लाद्ने यिनै होइनन् र ?

आज पूर्वपञ्च र केही मतिभ्रष्ट बुद्धिजीविहरूको एउटा सानो झुन्डले ‘फूलको वर्षा’ गर्ने बित्तिकै ती तानासाहहरू आज ‘लोकप्रिय’ बन्न सक्छन् ? तिनै अत्याचारले चरम सीमा छुन थालेपछि राजतन्त्र उन्मुलन गरेको होइन र ? के आमाको गर्भबाट जन्मिसकेको बच्चालाई फेरि पेटमा नै फर्काउन सम्भव हुन्छ ? किमार्थ सम्भव हुँदैन र सम्भव छैन ।

व्यवस्थालाई बलियो बनाउन के गर्नुपर्ने खाँचो देख्नुभएको छ ?
कुनै पनि तानाशाहहरूका निम्ति संविधान कागजको खोस्टो मात्र हुन्छ । पूर्वराजा ज्ञानेन्द्रको निम्ति आजको संविधान पनि त्यस्तै भएको छ । राजतन्त्रवादीहरूका उदण्डतापूर्ण हरकतहरू, संविधान विरोधी, गणतन्त्र विरोधी र धार्मिक समानता विरोधी प्रचारहरूको दृढतापूर्वक खण्डन गर्नुपर्छ । वर्तमान गणतन्त्र र त्यसलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्नुपर्ने आवश्यकता र औचित्यको पुष्टि गर्दै अगाडि बढ्नुपर्छ ।

राजतन्त्रवादीहरूलाई विदेशीहरूले दिइरहेको टेकोपुडोको भण्डाफोर गर्नुपर्छ । गणतन्त्र स्थापनापछि जनताको अवस्थामा सुधार गर्न नसकेकोप्रति जो जिम्मेवार छन् उनीहरूले जनतासमक्ष आत्मआलोचना गर्नुपर्छ । क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति, राष्ट्रिय औद्योगीकरण, शिक्षा, स्वास्थ्यमा व्यापक परिवर्तन, रोजगारीको विकास, राष्ट्रियतालाई सुदृढ गर्ने लगायतका आर्थिक–सामाजिक सुधारका योजना र कार्यक्रम तत्काल घोषणा गर्नुपर्छ । राजतन्त्रवादीहरूका वितण्डाहरूको देशव्यापी रूपमा विरोध, आलोचना र खण्डन गर्नुपर्छ ।

यस्ता वितण्डाहरूका पछाडि विदेशीहरूको खेल कसरी चलिरहेको छ, त्यसको सत्य तथ्य बाहिर ल्याउनुपर्छ । वर्तमान गणतन्त्रको रक्षा गर्दै त्यसलाई योभन्दा अघि बढेर समाजवादी गणतन्त्रको दिशामा विकास गर्नुको विकल्प छैन । देशव्यापी रूपमा राजतन्त्रवादी, वंशतन्त्रवादी र पुनर्रुत्थानवादीहरूका विरुद्ध राष्ट्रव्यापी विरोध र भण्डाफोरको लहर सिर्जना गर्दै नेपाली इतिहासको रथलाई वैज्ञानिक समाजवादतिर अघि बढाउन सच्चा कम्युनिष्ट, वामपन्थी शक्तिहरू एकजुट भएर लाग्नुपर्छ ।

कम्युनिष्टहरू त मिल्नेभन्दा विभाजित हुने लहर चलेको देखिन्छ । कम्युनिष्ट नेताहरूको चेत कहिले खुल्छ होला ?
यथास्थितिवादले राजतन्त्रका संविधान विरोधी क्रियाकलापलाई मात्र पनि रोक्न सक्दैन । राजतन्त्रवाद र यथास्थितिवादको एक मात्र विकल्प वैज्ञानिक समाजवाद नै हो । २००६ सालदेखि नै गणतन्त्र, जनवाद र समाजवादको झन्डा उचालेर अघि बढ्दै आएका सम्पूर्ण वामपन्थी क्रान्तिकारीहरूले देश र जनताको भविष्यलाई नयाँ धरातलबाट सोच्ने बेला आएको छ ।

विगतको समीक्षा गरौँ, हिजो भएका कमीकमजोरीहरू हटाऔँ, समाजवाद प्राप्तिको कार्यदिशाका आधारमा सम्पूर्ण सच्चा वामपन्थी शक्तिहरू, देशभक्तहरू र गणतन्त्रवादीहरूलाई एकताबद्ध बनाऔँ । राजतन्त्रवाद र यथास्थितिवादको विरोध र भण्डाफोर गर्दै समाजवादको दिशातिर दृढतापूर्वक अघि बढौँ र देश तथा जनतालाई अघि बढाऔँ । आज समयले हामीलाई यही दिशामा अघि बढ्न लल्कारी रहेको छ । कम्युनिष्ट मुभमेन्ट एकत्रित नहुँदा प्रतिगामीहरूले चलखेल गर्ने ठाउँ पाएका छन् । जनमत कम्युनिष्टको पक्षमा भए पनि विभाजित कम्युनिष्ट पार्टीहरूबाट जनमतको सम्मान हुन सकेको छैन । अब सबैले गम्भीर रूपमा सोच्ने बेला आइसक्यो ।

समाजवादी नाम गरेका धेरै पार्टी खुले । समाजवादी मोर्चा पनि गठन भयो । तर, समाजवादी आचरणअनुसार काम हुन सकेको छैन किन ?
नामले मात्रै केही हुँदैन । कसले कस्तो काम गर्छ त्यसआधारमा त्यसको पहिचान बन्छ । बहुलवाद, दलीय प्रतिस्पर्धा, प्रतिपक्ष भन्ने कुरा समाजवादमा हुँदैन । त्यसको वस्तुगत आधार नै हुँदैन । त्यो पुँजीवादमा मात्र हुन्छ । बहुदलवाद भनेको पुँजीवादी लोकतान्त्रिक मूल्य मान्यता हो । त्यसरी समाजवाद आउन सक्दैन । त्यो पुँजीवाद नै हुन्छ । समाजवादमा पुग्नका लागि पहिला नीति तथा कार्यक्रममा स्पष्ट हुनुपर्छ । एकीकृत समाजवादीले नेपाली विशेषताको समाजवादी मोडल अघि सारेको छ । महाधिवेशनबाटै समाजवादी कार्यक्रम पारित गरेर जाने नेपालको पहिलो पार्टी एकीकृत समाजवादी नै हो । अन्य पार्टीले अहिलेसम्म त्यसरी समाजवादी कार्यक्रम पारित गरेर आउन सकेका छैनन् ।

समाजवादी मोर्चाले समाजवादको आधार तयार पार्न योगदान गर्न सक्छ ?
अहिलेको समाजवादी मोर्चा कार्यगत एकताबाहेक केही होइन । एकभन्दा बढी पार्टीबिच कार्यगत एकताका आधारमा संयुक्त सभा, जुलुस गर्न सकिन्छ । तर अहिले समाजवादी मोर्चा भन्ने कुरा एउटा अपरिपक्क व्ययामजस्तो मात्रै देखिएको छ । हाम्रो पार्टी मात्र समाजवादी कार्यक्रम अघि सार्ने पार्टी हो । अन्य पार्टीले समाजवादी कार्यक्रम नै अघि सारेका छैनन् । समाजवादी कार्यक्रममा सहमत नभइकन बनाइने समाजवादी मोर्चाको खास अर्थ हुँदैन । अहिले मोर्चा त्यस्तै भएको छ ।

सरकारको कार्यशैलीलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
यो सरकारले देश र जनताको पक्षमा कुनै काम गर्न सकेको छैन । न भ्रष्टाचार रोक्न सक्यो, न शोषण रोक्न सक्यो, न रोजगारी नै दिन सक्यो । न मुलुकलाई औद्योगिकीकरण गर्न सक्यो । देशमा रोजगारी नभएकै कारण अढाइ हजार युवा हरेक दिन बाहिरिनु परेको छ । यो भनेको भयावह नोक्सानीको कुरा हो । यो सरकार साँधैको लागि होइन । फेरि अर्को निर्वाचन आउँछ । नेपाली जनताले आगामी निर्वाचनमा गणतन्त्रको मर्म र भावना अनुरूप संविधानको मर्म र भावना अनुरूप अब समाजवादतर्फ कसरी जाने भन्ने सोचेर त्यस्तो किसिमको शक्तिलाई विजयी गराएर पठाउन सक्नुपर्छ ।

एकीकृत समाजवादी जुन स्पिरिटका अनुसार गठन भएको थियो, त्यसअनुसार अघि बढ्न सकेन किन ?
एकीकृत समाजवादी अत्यन्तै उज्जल सम्भावना भएको पार्टी हो । तर, यो पार्टीलाई ठिक वैचारिक, राजनीतिक कार्यदिशा, नीति, विधि र सिद्धान्तका आधारमा हाँक्न सक्नुपर्छ । हामीले १०औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक भव्यरुपमा उत्साह र उमङ्गको वातावरणमा सहमतिका साथ सम्पन्न ग¥यौँ । अब पार्टीलाई व्यापक रूपमा विकास, विस्तार र रूपान्तरण गर्नुपर्छ भनेर महाधिवेशन सम्पन्न भयो । तर, केन्द्रीय कमिटीभित्र पदाधिकारी निर्माण गर्ने बेलामा हामीले सहमतिलाई छोडिदियौँ ।

१८४७ प्रतिनिधिहरूको बिचबाट ३४४ केन्द्रीय कमिटीका सदस्य चाहिँ सहमतिमा चयन गर्न सक्ने, अनि ३४४ सदस्यको बिचबाट १७ जना पदाधिकारी चाहिँ सहमतिका साथ चयन गर्न नसक्ने प्रवृत्तिले पार्टी केन्द्रमा एउटा ठूलो समस्या खडा ग¥यो । असन्तुष्टि, विरोध, आक्रोश र पलायन पनि देखा प¥यो । त्यसले गर्दा पार्टीलाई जुन हिसाबले अगाडि बढाउनुपर्ने थियो, त्यो हिसाबले अगाडि बढाउन सकिएन । कार्यविभाजनका सन्दर्भमा पनि प्रश्न उठे । जसले गर्दा आन्तरिक समस्या देखियो । त्यहीकारण जुन रफ्तारमा पार्टी अगाडि बढ्नुपर्ने हो, त्यसरी अगाडि बढ्न सकेन ।

जनवर्गीय संगठनहरूमा पनि समस्या देखियो । विशेषगरी अनेरास्ववियू र युवासंघमा असन्तुष्टि चर्को रूपमा बाहिर आयो किन ?
एकीकृत समाजवादीमा जनवर्गीय संगठन धेरै छन् । ती जनसंगठनहरूमा फरक फरक व्यवहार नेतृत्वबाट भयो । अपानिबाट जिम्मेवारी खोस्ने कामसमेत भयो । त्यसले गर्दा अनेरास्ववियू र युवा संघमा असन्तुष्टि देखिएको हो । यस्ता विषयमा नेतृत्व सचेत हुनुपर्छ । जनवर्गीय संगठनलाई चलायमान बनाउन पार्टीले भूमिका खेल्नुपर्छ ।

यही गतिमा पार्टी अगाडि बढेर देशमा विकल्प दिन सक्छ त ?
पार्टीको विकासलाई अगाडि बढाउँदा वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक, पार्टीको कार्यशैली, कार्यपद्धति, वर्ग संघर्षसम्बन्धि विकासलगायतका समग्र कुरालाई हेर्नुपर्ने हुन्छ । अनि त्यसरी पार्टीलाई अगाडि बढाउनका लागि जे आवश्यकता पर्छ, त्यसरी जुनसुकै कदम चाल्नुपर्छ । पार्टीको अग्रगतिलाई ज्ञारेन्टी गर्दै अगाडि बढ्नुपर्छ । राष्ट्रियता, जनजीविका, विकास निर्माण, सुशासनलगायत समग्र विषयमा पार्टी स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्दा देशमा विकल्प दिन सकिन्छ । ०००

प्रतिक्रिया दिनुहोस्