काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गतेका लागि बैठक बोलाएकी हुन् ।
पार्टीमा जारी विवाद र जनमत पार्टीसँग हुने भनिएको एकताका विषयमा छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

बैठकमा वैध र अवैध भनिएका चारथरी केन्द्रीय सदस्यहरूलाई निम्ता गरिएको बताइएको छ । अध्यक्ष श्रेष्ठले जारी गरेको पत्रअनुसार पार्टीका संरक्षक जेलमा रहँदा बनेका केन्द्रीय सदस्यहरू र केन्द्रीय सदस्यमा अनुमोदित पार्टीबाट निर्वाचित संघ र प्रदेशका उम्मेदवार, पालिका प्रमुख र उपप्रमुखहरू पनि रहेका छन् ।
त्यस्तै, टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र संस्थापक केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ । पार्टीले प्रदान गरेको केन्द्रीय सदस्यको प्रमाण पत्र अनिवार्य गरिएको छ । पार्टीले कारबाही गरेकाहरू भने सहभागी हुन पाउने छैनन् । बैठक मध्य बानेश्वरको सनराइज क्याफेमा बस्ने तय भएको नाउपाले जनाएको छ ।