Logo
Logo

स्ववियु निर्वाचनको नतिजाले प्रचण्ड उत्साहित


3.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजाले उत्साहित भएका छन् ।

सत्ता गठबन्धनलाई समेत पराजित गर्दै माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले कयौं क्याम्पसमा जित हासिल गरेपछि अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन् । उनले अखिल क्रान्तिकारीका पक्षमा देखिएको लहरका रूपमा व्याख्या गर्दै यसलाई ‘निकै उत्साहप्रद’ भनेका हुन् ।

‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ । कैयौँ क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ’, उनले लेखेका छन्, ‘विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

त्रिभुवन विश्वविद्यालयअन्तर्गतगका आंगिक, सम्बन्धनप्राप्त, सामुदायिक र निजी गरी ३ सयभन्दा बढी क्याम्पसमा यही चैत ५ गते भएको स्ववियु चुनावको अन्तिम मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यो समाचार तयार पार्दासम्म अखिल क्रान्तिकारीले ८२ क्याम्पसमा स्ववियु सभापति पद जितेको छ ।

प्रतिक्रिया दिनुहोस्