काठमाडौं । ऊर्जा तथा जलस्रोतमन्त्रीले जनतालाई कसरी उज्यालोमा राखौँ भन्ने सामान्य चिन्ता हुनुपर्ने हो । तर, वर्तमान उर्जामन्त्री दीपक खड्कालाई भने यस्तो चिन्ता छैन । बरु उल्टै जनतालाई कसरी अँध्यारोमा धकेलौं भन्ने धयेले जबरर्जस्त लोडसेडिङ गर्न लागिपरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारम्बार अहिले लोडसेडिङ हुने परिस्थिति नभएको बताइरहँदा ऊर्जामन्त्री खड्का अब साँझको समयमा लोडसेडिङ हुने बताउँछन् । यस्तो भनाइले पनि उर्जामन्त्री जबरर्जस्त लोडसेडिङ गरेर जनतालाई अँध्यारोमा राख्न चाहन्छन् भन्ने प्रष्ट हुन्छ ।
ऊर्जामन्त्री खड्काले बुधबारको राष्ट्रियसभा बैठकमा भने, ‘अब साँझको समयमा लोडसेडिङ हुनसक्छ ।’ उर्जामन्त्री खड्का जसरी पनि कुलमानलाई हटाएर देशमा लोडसेडिङ गराउन तागत खर्चिरहेका छन् । यतिले पनि कुलमानलाई हटाउन नसक्ने अवस्था देखेपछि लोडसेडिङ गराएर भएप्नि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने रणनीतिमा लागेको उनको भनाइबाट प्रष्ट हुन्छ ।
उर्जामन्त्री खडेकाले लोडसेडिङको अन्त्य कुलमानले नभएर भारतले गरेको समेत बताउँदै आएका छन् । बुधबार पनि उनले त्यही दोहो¥याए । उनको यस्तो भनाइपछि सामाजिक सञ्जालमा ऊर्जामन्त्री खड्कामाथि आक्रोश झनै बढ्दो छ ।
ऊर्जामन्त्री खड्काले अब घरघरमा लोडसेडिङ हुने बताएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सोको प्रतिक्रिया दिँदै त्यो अवस्था नआउनेमा निर्धक्क हुन उपभोक्तासँग आग्रह गरेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने स्पष्ट पारेपछि लोडसेडिङदेखि आत्तिएका सर्वसाधारण ढुक्क भएका छन् ।
घिसिङले जस्तोसुकै कठिन परिस्थितिमा पनि घरायसी ग्राहकले लोडसेडिङ भोग्नुपर्ने स्थिति आउन नदिने बताएका छन् । उद्योगहरूको हकमा भने रातको समयमा लोडसेडिङ हुने परिस्थिति उत्पन्न भएको उनको भनाइ छ ।
घिसिङलाई असफल साबित गर्न ऊर्जामन्त्री खड्का लागिपरेको र उनले लोडसेडिङ हुन नदिनेमा सर्वसाधारण निश्चिन्त देखिएका छन् । घिसिङले पनि आफूलाई मन्त्री खड्काले पटकपटक स्पष्टीकरण सोधेको र भारतबाट आयात गर्नका लागि पनि व्यवधान खडा गरेको बताएका छन् । मन्त्री खड्काले जतिसुकै अवरोध गरेपनि आफू प्राधिकरणमा रहेसम्म जनताले लोडसेडिङ भोग्नुनपर्ने घिसिङको भनाइ छ ।
कार्यकारी निर्देशक घिसिङले सबै उद्योगमा लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको तर डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा भने आवश्यकतानुसार लोडसेडिङ हुने बताए ।
अहिले नदीमा आधारित पावरहाउसबाट उत्पादन कम भइरहेकाले भारतबाट बिजुली आयात गर्न बाध्य भइरहेको घिसिङले बताए । तर, ऊर्जामन्त्री खड्काले भने भारतबाट बिजुली आयात गरेर कृत्रिम रूपमा लोडसेडिङ अन्त्य गरिएको जिकिर गर्दै अब आयातलाई थेग्न सक्ने अवस्था नभएको बताएका छन् ।
मन्त्री खड्काले अहिले ८ सय २५ मेगावाट विद्युत् आयात गरेर नेपालको आपूर्ति धानिरहेको बताउँदै भारतबाट आयातित विद्युतका कारण लोडसेडिङ हटेजस्तो भएको जिकिर गर्दै ‘उज्यालो नेपालका नायक’ कुलमान घिसिङ नभएको बताएका थिए ।