Logo
Logo

धर्मको नाममा ज्यादतीः महायज्ञ गर्न दलित परिवारको उठिबास, नेताले दिन थाले धम्की


1.8k
Shares

सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित विष्णु महायज्ञ गर्न दलित (डोम) परिवार घर डोजर लगाएर भत्काइएको छ ।

महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले डोजर लगाएर दिपक मरिक (डोम)को घर भत्काएर उठीबास लगाएका हुन् । उक्त समाचार बाहिरिएपछि पीडित परिवारलाई धाकधम्की दिन थालिएको छ ।

बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् । मरिक परिवार वर्षौंदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ ।

पीडित अनिता मरिकलाई महायज्ञ स्थलमा रहेको एउटा घरमा थुनेर ‘म आफैँ यहाँबाट अन्यत्र गएको’ भन्न लगाइएको छ । उनले बोली फेरेको भिडियोसमेत बनाएर घटनालाई मोड्ने प्रयास भएको छ ।

गाउँपालिका अध्यक्ष र जनमतका नेताको निर्देशनमा पीडित अनितालाई धाकधम्की दिँदै सत्यतथ्य लुकाउने प्रयास गरिएको स्थानीय बताउँछन् ।

सदनका उठ्यो विषय

आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद सन्तोष परियारले मरीको परिवारमाथि घटेको जातीय विभेदको घटनाले अन्तरराष्ट्रिय मानव अधिकारप्रतिको प्रतिबद्धता र कानुनी व्यवस्थाको खिल्ली उडाएको भन्दै घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद सान्ती चौधरीले २१औँ सताब्दीमा पनि जातीय विभेदका घटना घटिरहनु र सङ्घीय राजधानीमा समेत यस्ता घटना हुनु दुःखद रहेको भन्दै विभेद उन्मूलनका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद सुशीला सिर्पाली ठकुरीले सिरहाको औरही घटनाको घोर निन्दा र भत्र्सना गर्दै दोषीलाई कारबाही र पीडितलाई राहत उपलब्ध गराउन माग गरे ।

सांसद हर्कमाया विश्वकर्माले रङ्गभेद उन्मूलन दिवस मनाइरहँदा दलित समुदायले विभिन्न विभेदका घटना भोग्नु परिरहेको भन्दै सिरहाको औरही गाउँपालिकामा भएको घटनाको निन्दा गर्दै घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष माग गरे ।

प्रतिक्रिया दिनुहोस्