Logo
Logo

पूर्वराजा ज्ञानेन्द्र लक्षित ओलीको टिप्पणी- दरबार हत्याकाण्डसँगै सत्ता हत्याउने काम भए


3.8k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दरबार हत्याकाण्ड भएर सत्ता हत्याउने काम भएको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले तत्कालीन राजा वीरेन्द्रको परिवारको हत्या गरेर सत्ता हातमा लिइएको र सञ्चारमाध्यममा सेना खटाइएको स्मरण गरेका हुन् । नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने पनि उनले बताए ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजा वीरेन्द्र शाहको परिवारको परिवारसहित हत्या, ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएको र मुलुकमा संकटकाल लगाएका कुरा स्मरण गरेका हुन् ।

निरंकुश व्यवस्थाका विरुद्ध नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ अहिलेको व्यवस्थामा आएकाले ुहाहाहुहुु गर्दैमा अन्य देशको जस्तो व्यवस्था परिवर्तन हुन नसक्ने उनको भनाइ थियो ।

लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो रहेको प्रधानमन्त्रीको भनाइ छ । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रुपमा सुदृढ गर्ने ? भन्ने रहेको पनि उनले बताए । ‘हेर्दाहेर्दै दरबार हत्याकाण्ड जस्ता काण्डहरू भए, सत्ता हत्याउने काम भए । सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने काम भए । यो भन्दा बढी व्याख्या गर्नु परेन,’ ओलीले भने, ‘लोकतन्त्र कहाँ बच्यो रु ती दिन नदेखेका मान्छे, त्यस जमानामा नजन्मिएको मान्छे अहिले यो भएन, त्यो भएन, तानाशाही भयो, अधिनायकवाद भयो भन्छन् । अधिनायकवाद भन्नेकुरा भेगेकै छैनन् । हामी लोकतान्त्रिक प्रणालीमा छौँ, यसमाथि धावा बोल्ने ?’

प्रधानमन्त्री ओलीले फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाहको नेतृत्वमा भएको प्रदर्शनलाई लिएर पनि आलोचना गरे । शाह पोखराबाट काठमाडौं फर्किँदा राजावादी पार्टी र समूहले प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनमा ज्ञानेन्द्र शाह गाडीमा चढेर हात हल्लाउँदै महाराजगञ्जस्थित निर्मल निवास पुगेका थिए ।

उक्त प्रदर्शनबारे प्रधानमन्त्री ओलीले टिप्पणी गरेका हुन् । उनले भने, ‘एयरपोर्टदेखि महाराजगञ्जसम्म त खुला उद्घोषका साथ मान्छेहरूले मार्च गरेको देखियो । लोकतन्त्र हुनु हुँदैन, संविधानअनुसार देश चल्नु हुँदैन, कानुनी राज हुनुहुँदैन । अराजकता सिर्जना गरेर केही मान्छेहरूले सजिलो हुन्छ, अस्तव्यस्ता कायम गर्न । केही मान्छेहरूलाई भ्रम छ नेपालमा पनि अरु केही देशहरूमा जस्तै उथलपुथल हाहाहुहु गरेको भरमा हुन्छ भन्ने, नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ यहाँ आइपुगेका छन् । त्यसकारण लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो छन् । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रुपमा सुदृढ गर्ने ? भन्ने हो । लोकतन्त्र मासिने कुरा हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीले स्थानीय तहलाई स्वच्छ बनाउने कुरामा आफूहरू लागिपरेको बताए । उनले जनताले सिंहदरबारको सरकार गाउँगाउँमा मात्रै पुग्यो र सिंहदरबारका भ्रष्टाचारहरू पनि गाउँमा पुगेको भन्दै टिप्पणी गर्ने गरेको बताए । सिंहदरबार भ्रष्ट नरहेको दाबी गर्दै सिंहदरबारमा बसेर देशको नेतृत्व गर्ने आफूले सधैँ भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने गरेको उनले बताए ।

प्रधानमन्त्री ओलीले आफूहरू देश निर्माण गर्ने कार्यकर्ता भएको बताए । संविधानको प्रभावकारी कार्यान्वयन र केही कुरा संशोधन गर्दा विचार पुर्‍याएर समयानुकूल बनाएर अघि बढ्न जरुरी रहेको उनले बताए । संविधान संशोधनको अर्थ प्रणालीको रक्षा गर्ने, प्रभावकारी बनाउने, कमजोरी हटाउने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने भएको बताए ।

प्रतिक्रिया दिनुहोस्