काठमाडौं । हमासले इजरायलको तेल अभिभमा तीनवटा मिसाइल प्रहार गरेको बताएको छ । इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि हमासको यो पहिलो प्रतिशोधात्मक आक्रमण गरेको हो ।

इजरायलले ती तीनवटा क्षेप्यास्त्रमध्ये एउटालाई रोकेको र बाँकी क्षेप्यास्त्रहरू खाली ठाउँमा खसेको बताएको छ ।
समाचारहरुमा बताइएअनुसार हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारदेखि इजरायलले पुनः युद्ध सुरु गरेपछि गाजामा कम्तीमा ५९१ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा २०० भन्दा बढी बालबालिका रहेका उनीहरुको भनाइ छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार इजरायली सेना (आईडीएफ)ले बिहीबार प्यालेस्टिनी क्षेत्रमा स्थलगत कारबाही सुरु गरेको बताएको छ । इजरायलले हमासले अझैपनि ५९ जनालाई बन्धक बनाएको बताएको छ, जसमध्ये २४ जना जीवित रहेको अनुमान गरिएको छ ।