Logo
Logo

बीवाइडीको अर्को तहल्का, अब पाँच मिनेटमै ब्याट्री चार्ज हुने


1.7k
Shares

काठमाडौं । बिद्युतीय गाडी बिक्रीमा विश्व रेकर्ड राखेको बिवाइडीले नयाँ चार्जिङ प्रणाली सुरु गरेर तहल्का मच्चाएको छ । समाचारमा बताइएअनुसार चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बिवाइडीले पाँच मिनेटमै ब्याट्री चार्ज हुने प्रणाली निर्माण गरेको छ ।

कम्पनीको यो दाबीसँगै बिवाइडीको हङकङमा सूचीबद्ध सेयर मंगलबार ४.१ प्रतिशतले बढेर ४०८.८० हङकङ डलरको रेकर्ड उच्चतम बिन्दुमा पुगेको थियो । लगानीकर्ता नयाँ ब्याट्रीको विकासले कम्पनीले पहिलेदेखि बनाएको विद्युतीय क्षेत्रको प्रभुत्व थप बलियो बनाउने आशा व्यक्त गरेका छन् ।

बिवाइडीका संस्थापक वाङ चुआनफुले कम्पनीको सेन्जेन मुख्यालयबाट प्रत्यक्ष प्रसारण गरिएको एक कार्यक्रममा यो नयाँ ब्याट्रीको खुलासा गरेका थिए । जहाँ उनले भने, ‘हामी विद्युतीय सवारीसाधनको चार्जिङको समयलाई पेट्रोलबाट चल्ने सवारीसाधनको इन्धन भर्ने समयजत्तिकै छोटो बनाउने लक्ष्यमा काम गर्दै आएका छौँ । यही प्रयासका कारण यस क्षेत्रमा पहिलोपटक एक मेगावाटको चार्जिङ क्षमता हासिल गरिएको छ ।’

उनका अनुसार नयाँ आउने दुई बिवाइडी मोडलमा यस्तो ब्याट्री हुनेछ, जुन पाँच मिनेटको चार्जमा चार सय किमि गुड्नेछ । ‘हान एल’ र ‘ट्याङ एल एसयुभी’ नामक ती कारको मूल्य दुई लाख ७० हजार युआन (३७ हजार ३३० डलर)बाट सुरु हुनेछ ।
बिवाइडीले सन् २०२४ को विश्वको दोस्रो ठूलो विशुद्ध ब्याट्रीयुक्त विद्युतीय सवारीसाधन निर्माता बनेको थियो । यस समूहमा उसलाई टेस्लाले मात्र उछिनेको छ । तर, यस चिनियाँ कम्पनीले बेचेको पेट्रोल इन्जिन र ब्याट्रीयुक्त इन्जिन भएको ‘प्लग–इन हाइब्रिड’ कार जोड्ने हो भने टेल्साभन्दा अगाडि छ । सन् १९९५ देखि ब्याट्री बनाउँदै आएको बिवाइडीले सन् २००३ देखि कार बनाउन सुरु गरेको थियो ।

हजार किलोवाट वा १ मेगावाट (मेगावाट)को चार्जको गति टेस्लाको सुपरचार्जरभन्दा दोब्बर छिटो हुनेछ, जसले ५०० किलोवाटसम्म चार्ज क्षमता देखाउँछ । छिटो चार्ज गर्ने प्रविधिको विकासले विद्युतीय वाहनको स्वीकारोक्ति बढाउने विश्वास गरिन्छ ।

बिवाइडीको सफलताको यस समाचार पहिलेदेखि संघर्ष गरिरहेको टेस्लाका लागि निराशाको रूपमा हेरिएको छ । युरोपका उग्र–दक्षिणपन्थी राजनीतिज्ञको समर्थन र ट्रम्प प्रशासनसँगको सहकार्यले टेस्लाको बिक्रीमा असर गरिरहेको छ ।

टेस्लाले अहिले आफैँले तोकेको बिक्रीको लक्ष्य भेट्न सकिरहेको छैन । त्यसबाहेक यसका लगानीकर्ताबाट स्वचालित सवारीसाधन उत्पादनका लागि बढ्दो रूपमा दबाब सामना गरिरहेको छ । मस्कको पटक–पटकको वाचाका बाबजुद लगभग एक दशकदेखि टेस्लाको स्वचालित कार बजारमा आउन सकेको छैन । त्यसबाहेक विश्वभरका बजारमा उसले बिवाइडी र अन्य चिनियाँ कम्पनीका सस्तो इभी मोडेलसँग कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ ।

बिवाइडीको नयाँ ब्याट्री प्रणालीको घोषणापछि टेस्लाको सेयर मूल्य मंगलबार ५.५ प्रतिशतले घटेको थियो । त्यसको अघिल्लो दिन सोमबार पनि ४.८ प्रतिशतले ह्रास देखिएको थियो । सन् २०२५ को पहिलो दुई महिनामै कम्पनीको सेयर मूल्यांकन ४४ प्रतिशतले घटिसकेको छ । ट्रम्पसँग मस्कको निकटताबाट टेस्लाको प्रतिष्ठामै धक्का पुग्ने कुराले यसमा लगानीकर्ता चिन्तित देखिन थालेका छन् ।

उता, नयाँ ब्याट्री प्रणाली घोषणाको सेरोफेरोमा बिवाइडीले चीनभर आफ्नै कम्पनीको चार हजार द्रुत चार्जिङ स्टेसनको सञ्जाल निर्माण गर्ने घोषणा गरेको छ । कम्पनीले यो लक्ष्य हासिल गर्न लाग्ने लगानी तथा समयसीमा भने तोकेको छैन । चीनमा बिवाइडी कार चलाउनेहरूले धेरै हदसम्म अन्य सवारीसाधनका चार्जिङ सुविधा वा तेस्रो–पक्ष अपरेटरद्वारा सञ्चालित सार्वजनिक चार्जिङमा भर पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्