Logo
Logo

रास्वपा राजावादी कि गणतन्त्रवादी, के भन्छन् रवि ? 


2.5k
Shares

काठमाडौं । गणतन्त्रवादी र राजावादी आमनेसामने हुँदा राजनीतिक वृत्त तातेको छ । सडकदेखि सदनसम्म  यसको पक्ष र विपक्षमा बहस जारी छ । संवैधानिक राजसंस्था, संघीयता खारेजीसहितका माग गर्दै राजावादीले सदनदेखि सडकसम्म तताइरहेका छन् । 

राजसंस्थाका लागि आन्दोलन जारी रहेकै बेला वर्तमान संविधान र गणतन्त्रको रक्षाका लागि भन्दै संसद्मा रहेका ठूला दलहरू पनि सडक आन्दोलनमा उत्रिँदै छन् । राजावादीहरू व्यवस्था नै परिवर्तन गर्ने उद्घोषसहित आन्दोलनमा उत्रिएपछि काउन्टर स्वरूप सत्तारुढ दल नेकपा एमालेले सडकमा उत्रिने घोषणा गरेको छ । 

एमालेले गणतन्त्रका पक्षमा २० दिने जनप्रदर्शन र विशेष सभा गर्ने जनाएको छ । ११ चैतबाट सुरु हुने सचेतना अभियान ३० चैतसम्म चल्नेछ । एमालेले मात्रै नभई चार दलीय समाजवादी मोर्चाले पनि आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । 

यसरी राजावादी र गणतन्त्रवादीबीच विवाद चर्किरहँदा गत संसदीय निर्वाचनबाट अप्रत्याशित रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अहिलेसम्म मैन रहेको छ । 

रास्वपा सभापति रवि लामिछानेले राजावादीको गतिविधि बढ्नु र गणतन्त्र संकटमा पर्नुको कारण सत्ता पक्षको कार्यशैली नै भएको दावी गरेपनि उनले रास्वपा गणतन्त्रको पक्षमा की राजतन्त्रको पक्षमा ? भन्ने प्रश्नको जवाफ भने दिएका छैनन् । 

शुक्रबार काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिन उच्च अदालत पाटन पुगेका उनलाई यस विषयमा पत्रकारहरूले बोल्न बाध्य पारे । उनीहरूले र्‍याखर्‍याख्ती पार्दै सोधे– रवि लामिछाने राजावादी रहेछ भनेर चर्चा गरियो हजुर नबोल्दै गर्दा। के हो खास रास्वपाको लाइन  ? तर लामिछानेले स्पष्ट जवाफ दिएनन्। 

उनले भने, ‘म आवेग र उत्तेजनामा छैन। किनभने मुलुक एउटा गम्भीर अवस्थामा आएको छ, एउटा जिम्मेवार राजनीतिक दलका हिसाबले र नेपाली जनताले आशा र भरोसाका साथ हेरेको एउटा दलका हिसाबले, त्यसको नेतृत्वकर्ताका हिसाबले म कुनै आवेगमा वा उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा छैन। त्यसकारणले मलाई थाहा छ तपाईँहरूको प्रश्नको आशय, र त्यसले कुन अर्थ लाग्छ भन्ने कुरामा पनि म एकदम जानकार छु। त्यसकारणले फेरि पनि यहाँहरूलाई विनम्रतापूर्वक जानकारी गराउन चाहन्छु– यो देशको भविष्य मेरो पुस्ताको, तपाईं हाम्रो पुस्ताको हातमा छ। म तपाईँलाई हेडलाइन दिन्नँ चिन्ता नगर्नुस्। को कसको पक्षमा विपक्षमा गयो भन्ने कुरा होइन। दुई तिहाइको सरकार छ। अस्ति पनि भनेको थिएँ मैले। यो दुई तिहाइको सरकारले देशका तमाम समस्या समाधान गर्नुपर्ने थियो, एउटै कुरा तपाईँलाई स्मरण गराउन चाहन्छु– मैले पार्लियामेन्टमा भनेको थिएँ– जब बिना कुनै विषम परिस्थिति दुइटा ठूला राजनीतिक दलहरू मिल्छन् भने त्यसबाट उत्पन्न हुने परिस्थिति कति भयाभव हुन्छ तपाईंहरूलाई अन्दाज छ भनेर मैले भनेको थिएँ नि१ अहिलेलाई म त्यही स्मरण गराउन चाहन्छु। अहिले म सरकारको लाज छोप्न विभिन्न अदालत धाइरहेको छु। समय आउँदै छ, चाँडै नै, म सबैलाई प्रतीक्षा गर्न अनुरोध गर्छु।’

हुन त रास्वपाभित्रै गणतन्त्र कि राजतन्त्र भन्ने एजेन्डा यकिन भइनसकेको बताइन्छ । रास्वपामा कतिपय नेताहरू गणतन्त्रको पक्षमा छन् भने कतिपय राजतन्त्रकै पक्षमा रहेको बताइन्छ । 

यो अवस्थामा राजावादीहरुले सडक र सदन नै तताइरहँदा रास्वपा मौन रहनु भने रहस्यको विषय बनेको छ । 

प्रतिक्रिया दिनुहोस्