Logo
Logo

लेखा समितिमा सांसदले मागे गौतमबुद्ध र पोखरा विमानस्थलका प्रतिवेदन


252
Shares

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका विषयमा सार्वजनिक लेखा समितिले बनाएको उपसमितिको प्रतिवेदन अहिलेसम्म लुकाइएको भन्दै सांसदहरुले चर्को आलोचना गरेका छन्।

समितिको शुक्रवारको बैठकमा सांसद्हरुले लेखा समितिले भैरहवा, पोखरा एयरपोर्टका विषयमा अध्ययन गर्न गठित उपसमितिले अझै प्रतिवेदन समितिसमक्ष नबुझाएको भन्दै सांसद्हरुले आक्रोश पोखेका हुन्।

बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रेमबहादुर आलेले फेरि उपसमितिहरु बनाउने कुरा आएको भन्दै भैरहवा, पोखराको एयरपोर्टका विषयलाई डाइभर्ट गर्न खोजिएको त होइन भन्दै प्रश्न गरे।

‘उपसमितिहरु बनाएर भैरहवा, पोखराको एयरपोर्टका विषयलाई डाइभर्ट गर्ने त होइन भन्ने मलाई शंका उत्पन्न भएको छ। स्वार्थ बाझिने गरी कुनै सदस्यलाई उपसमितिको संयोजक बनाइएपछि के रिजल्ट आउँछ? उपसमितिका रिपोर्टहरु कुन समयभित्र आइसक्ने एउटा सीमा तोक्नुपर्छ‚’ उनले भने‚ ‘विगतमा ट्रंक लाइन डेडिकेटेड लाइनको बक्यौता उठाउने भनेर लेखा समितिबाट एकाधबाहेक सर्वसम्मत रुपमा निर्णयमा पुग्दा समेत सभापतिले बैठक स्थगन गर्नुभयो।’

जबसम्म भैरहवा, पोखरा विमानस्थल तथा ट्रंक र डेडिकेटेड लाइनको विवाद नटुंगिने हो आफू कुनै पनि समितिमा नबस्ने समेत उनले बताए।

नेकपा एमाले सांसद गोकुल बास्कोटाले पोखरा र भैरहवाका सन्दर्भमा उपसमिति बनेको बताउँदै त्यसको प्रतिवेदन तयार भइसकेको बताए।

उजुरी नपरी भैरहवा पोखराबारे छानबिन गरेर उपसमितिले काम गरेको बताउँदै उनले फेरि उजुरीका भरमा छानबिन गर्न आफू तयार नहुने बताए।

आग्रह, पूर्वाग्रह, आशंकाका आधारमा कतिपय उजुरीहरु परेको उनले बताए। त्यस्ता उजुरीमा समितिमा छलफल चलाइन नहुने उनको भनाइ थियो।

उनले भने‚ ‘आग्रह, पूर्वाग्रह, आशंकाका आधारमा कतिपय उजुरीहरु परेका छन्। त्यस्तामा छलफल चलाइँदा परिणाम निस्कँदैन। बेकारको गिजल्ने कुरामा म सहमत हुँदिनँ।’

समिति सभापति ऋषिकेश पोखरेलले जति पनि उपसमितिहरु बनाएर समितिमा छलफल भएका छन् ती उजुरीहरुकै आधारमा भएको बताए।

भैरहवा पोखरा एयरपोर्टको उपसमितिका प्रतिवेदन नआएकोबारे सांसद्हरुले उठाएको प्रश्नमा पोखरेलले प्रतिवेदन नल्याउँदै आनावश्यक टीकाटिप्पणी गर्न राम्रो नहुने बताए।

उनले भने‚ ‘हामीसँग आएका जति पनि उजुरीहरु छन्, जति पनि उपसमिति बनाएर छलफल गरेका छौँ- त्यो उजुरीकै आधारमा भएको हो। उजुरीकै आधारमा उपसमितिले काम गरिरहेको छ। कतिपय उपसमितिहरु बनेर काम पनि सकिसकेका छन्, प्रतिवेदन नल्याउँदै अनावश्यक टीकाटिप्पणी गर्न राम्रो हुँदैन।’

गत जेठमा लेखा समितिले गौतबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा विमानस्थलका बारेमा उपसमिति बनाएर अध्ययन गराएको थियो।

उपसमितिले प्रतिवेदन तयार गरेको बताउँदै आए पनि अहिलेसम्म समितिलाई बुझाएको छैन। जसकारण सांसदहरुले प्रश्न उठाउँदै आएका छन्।

समितिमा अन्य संसद्हरुले समितिमा आउने उजुरीहरुलाई छिटो टुंग्याउन प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिए। उनीहरुले संसदीय समितिमा परेका उजुरीहरुमाथि प्रभावकारी रुपमा छलफल गरेर निचोडमा पुर्‍याउन नसकेको भन्दै सभापतिको आलोचनासमेत गरे।

ठूलो संख्यामा उजुरी आएको र त्यसबारे निष्कर्षमा पुग्नेगरी समिति सभापति ऋषिकेश पोखरेलले छलफल नचलाएको भन्दै आलोचना गरे।

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उजुरीहरुलाई क्लस्टर बनाएर समितिमा छलफल गर्नुपर्ने बताए।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मन्त्रालयगत, निकायगत उजुरीहरु छुट्टाएर उपसमिति बनाई छलफल चलाउन ढिला गर्न नहुने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् हरि ढकालले उपसमितिले कामै गर्न नसकेको आरोप लगाए। ढकालले निर्णय भइसकेका विषयसमेत कार्यान्वयनमा जान नसकेको बताए।

सिमेन्टको भाउ अप्राकृतिक रुपमा बढेको भन्दै समितिबाट निर्देशन भएको र महिनौँसम्म पनि उद्योग मन्त्रालयले कुनै ठोस निर्णय नगरेको आरोप लगाए।

उनले यसले समितिको निर्णयमाथि नै प्रश्न उठेको बताए। यसले निर्देशनमाथि निर्देशन दिने काममात्र हुने हो कि भन्ने चिन्ता उब्जाएको बताए।

नेकपा एमालेका सांसद योगेश भट्टराईले उजुरीहरु धेरै परेको र निरन्तर बैठक बस्दा पनि टुंगिन गाह्रो रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उजुरीउपर समूह बनाएर अध्ययन गरी परिणाम आउनेगरी काम गर्न जरुरी रहेको बताए।

उनले समितिले निर्देशन दिएपछि त्यसको पालना कति हुन्छ भन्नेबारे ख्याल गरिनुपर्ने बताए। उनले सिमेन्ट, छड रडको बारेमा अहिले समितिमा छलफल चलाइनुपर्ने बताए। उनले उजुरी हेर्न नमिल्ने भए कारण खुलाएर उजुरीकर्तालाई भनिदिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्