Logo
Logo

कुलमानलाई ‘गलत’ देखाउन खोज्दा आफैँ ‘नङ्गिए’ ऊर्जामन्त्री


10.5k
Shares

काठमाडौं । सरकार र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच लामो समयदेखि टसल छ । खड्काले गत असारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बागडोर सम्हालेदेखि नै उनीहरूबिच टसल चल्दै आएको छ । 

मन्त्री खड्का जसरी भएपनि कुलमानलाई प्राधिकरणबाट हटाउन लागिपरेका छन् भने लोकप्रियताको आँडमा कुलमानले पनि सरकारसँग सिँगौरी खेल्दै आएका छन् । कुलमानलाई हटाउने प्रस्ताव फागुनको पहिलो सातै ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषद्मा लगेका थिए । 

आफूलाई हटाउने प्रस्ताव मन्त्रीपरिषद्मै पुगेपछि फागुन १० मा तय भएको भारत भ्रमण समेत कुलमानले रद्द गरेका थिए । मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेर फागुनमै कुलमानलाई प्राधिकरणबाट हटाउने तयारी थियो । तर, त्यसको चौतर्फी आलोचना र विरोध भयो । 

सत्तारुढ दल काँग्रेसकै नेताहरूले समेत कुमानलाई तत्काल हटाउनु नहुने मत राखेपछि सरकार पर्ख र हेरको अवस्थामा पुग्यो । यही बेला राजावादीहरू व्यवस्था नै परिवर्तन गर्ने र राजा ल्याएरै छाड्ने उद्घोषसहित सडकमा उत्रिए । यही बेला कुलमानलाई हटाए राजावादीको आन्दोलनमा घिउ थपिने भएपछि उनलाई हटाउने निर्णय गर्नेबाट सरकार पछि हट्न बाध्य भयो । 

हटाउने नियतले मन्त्री खड्काले कुलमानलाई बारम्बार स्पष्टीकरण सोधिसकेका छन् । त्यति मात्रै होइन प्राधिकरणकै कार्यलयमा आफ्नो कार्यकक्ष बनाउनुको साथै कुलमानलाई कार्यसम्पादनमा शून्य अंक समेत दिएका छन् । 

अनेक प्रयास गर्दा पनि हटाउन सम्भव नभएपछि उर्जामन्त्री खड्का कुलमानलाई बदनाम गर्न लागिपरेका छन् । त्यसैले मन्त्री खड्काले नेपालको १८ घण्टासम्मको लोडसेडिङ कुलमानले नभई भारतले गर्दा हटेको दाबी बारम्बार गर्दै आएका छन् । 

उनले बारम्बार भन्ने गरेका छन्– ‘नेपालको लोडसेडिङ अन्त्य भारतले गरेको हो । उज्यालोका नायक कुलमान घिसिङ होइन है । बरू धन्यवाद भारतलाई दिऊँ ।’

त्यति मात्रै नभई मन्त्री खड्काले अहिले पनि लोडसेडिङ भइरहेको जिकिर र फेरि नागरिकले लोडसेडिङ खेप्नुपर्ने अवस्था आएको दाबी गरिरहेका छन् ।

‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ,’ ऊर्जामन्त्री खड्काले राष्ट्रिय सभामा सांसदहरूका प्रश्नका जवाफ दिँदै भने, ‘हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ । निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युत्ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ ।’

मन्त्री खड्काले लोडसेडिङ हुने जिकिर गरे पनि कुलमान भने लोडसेडिङ नहुने दाबी गरिरहेका छन् । लोडसेडिङ हुन लागेको भनी मन्त्रीले दिएको अभिव्यक्ति लगत्तै उनले लोडसेडिङ नहुने स्पष्ट पारेका छन् ।

विभागीय मन्त्रीका हैसियतमा ऊर्जामन्त्री खड्काको दायित्व देशमा लोडसेडिङ हुन नदिने प्रबन्ध गर्नुका साथै त्यसबारे नागरिकलाई आश्वस्त पार्नु हो । तर, कुलमानलाई बदमान गराउने नियतले आफ्नो दायित्व नै भुलेर मन्त्री खड्काले ‘घरघरमा लोडसेडिङ हुँदै छ’ भनेर गर्व गरिरहेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई गलत देखाउन मन्त्री खड्काले पावर एक्सचेन्ज कमिटी (पिइसी) बैठकको समझदारी कार्यान्वयनमा समेत आनाकानी गरेका छन् ।

हिउँदका कारण खोलामा पानी कम भएपछि स्वदेशी विद्युत् उत्पादन घटेको छ भने अर्कोतिर भारतले दैनिक १२ घण्टा मात्रै विद्युत् दिन थालेको छ । चैत ३ गतेबाट भारतले पूर्वस्वीकृतिअनुसार रातिको समयमा विद्युत् दिन छोडेको छ ।त्यसैले दिउँसो भारतबाट धेरै आयात गरी नेपालको अर्धजलाशय र जलाशययुक्त आयोजना बन्द गरेर पानी जम्मा गर्ने र राति त्यही पानीबाट अधिकतम विद्युत् उत्पादन गर्ने प्राधिकरण  अभ्यास गर्दै आएको छ ।

 प्राधिकरण कसरी लोडसेडिङ अन्त्य गर्ने भनेर लागिपर्दा विभागीय मन्त्री भने औद्योगिक क्षेत्रमा मात्रै नभई सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने भन्दै हल्ला गरिरहेका छन् । अहिले विद्युत् अपुग भएपछि केही ठूला उद्योगमा कटौती गरिएपनि नागरिकका घरमा भने लोडसेडिङ भइसकेको छैन । 

कुलमानकै कुशल कार्य क्षमताको कारण नै नेपाली नागरिक लोडसेडिङको मारबाट मुक्त भएका हुन् । त्यही कार्यक्षमताको प्रशंसा गर्दै तत्कालीन सरकारले दोस्रो कार्यकालमा पनि घिसिङ प्राधिकरणको जिम्मेवारी सुम्पेको हो । तर, उनै कुमानलाई हटाउन र गलत देखाउन विभागीय मन्त्री नै लाग्दा ऊर्जामन्त्री खड्कामाथि मात्रै नभई ओली नेतृत्वकै सरकारको नियतमा प्रश्न उठेको छ । 

प्रतिक्रिया दिनुहोस्