काठमाडौं । जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पहिलो पटक पराजित गरेको छ ।
सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले फिफा वरियतामा १५ स्थानमा माथि रहेको सिंगापुरलाई १–० ले पराजित गरेको हो ।

नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टच गोल गरेका हुन् ।
त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो तर सदुपयोग भएन । सिंगापुरले घरेलु मैदान बराबरी गोल फर्काउने लगातार प्रयास गरेपनि सफल भएन ।
एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि नेपालले सिंगापुरलाई हराउन सकेको थिएन ।
तीन अफिसियल खेलमा नेपाल सिंगापुर सँग पराजित भएको थियो भने नेपालमा भएको सिल्भर जुब्ली कपमा नेपाल र सिंगापुरले बराबरी खेलेको थियो ।
नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।