Logo
Logo

जहाँजहाँ ओली, त्यहाँत्यहाँ ‘मुर्दावाद’


3.8k
Shares

अहिले जहाँजहाँ ओली, त्यहाँत्यहाँ ‘मुर्दावाद’ छ । देशको कार्यकारी प्रधानमन्त्री आमजनताको अभिभावक हुन् । यस हिसाबले केपी शर्मा ओलीको जयजयकार हुनुपर्ने हो । तर, ‘ओली मुर्दावाद’को लहर चलिरहेको छ

अहिले देशमा चलेको भनेकै दुई कुरा छन् । एक– ‘ओली मुर्दावाद’ ! अर्को, दुर्गेश थापाको गीत– दुस्मन हेरेको हे¥यै । ओलीविरुद्ध मुर्दावादको नारा लाग्न बाँकी एउटै मात्र ठाउँ बाँकी होला– आर्यघाट ! यदि, मुर्दाले पनि शिर उठाउन सक्नेभए एकपटक भन्थे होला– ओली मुर्दावाद !
रंगशालादेखि रंगपर्वसम्म ‘ओली मुर्दावाद’को नारा घन्किएको छ । वसन्तपुरको होली रौनकमा समेत ओलीविरोधी नारा छुटेन । उसो त ओलीकै नाममा उनकै पार्टीको भातृ संगठन युवा संघले आयोजना गरेको ‘केपी ओली कप’मा समेत ‘ओली मुर्दावाद’को नारा लाग्यो । यसले प्रधानमन्त्री ओलीप्रति आक्रोश बढेको सहजै बुझ्न सकिन्छ ।

पूर्वमा ‘ओली मुर्दावाद’को नारा घन्किएको दुई वर्ष बढी भयो । त्यहाँका आदिवासीको माग विपरीत बिनापहिचान प्रदेशको नामकरण ‘कोसी’ गरिएपछि ओलीविरोधी नारा लाग्न सुरु भएको थियो । मुक्कुमलुङ विवादसम्म आइपुग्दा पनि उक्त नारा रोकिएको छैन । जसले ओली मात्रै नभई उनका ‘भाइ भारदार’हरूको पनि टाउको दुखेको छ !

यता, उज्यालोका नायक भनेर चिनिएका कुलमान घिसिङ, स्वतन्त्र मेयरद्वय बालेन शाह र हर्क साम्पाङका समर्थकले पनि ‘ओली मुर्दावाद’को नारा घन्काइरहेका छन् । एमालेभित्रै पनि ‘ओली मुर्दावाद’ भन्नेहरू छन् । तर, बाहिर ओकल्न नसकेका मात्रै हुन् । किनकि, उनीहरूलाई अर्को भीम रावल बन्नु छैन !

कुनै बेला उनै ओलीलाई देशकै नायकको रूपमा चित्रण गरिन्थ्यो । जतिबेला भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएको थियो । र, ओलीले भारतको उक्त कदमको खरो विरोध गरेका थिए । तर, अहिले उनै ओली ‘खलनायक’ बनेका छन् ! जुन उनीविरुद्ध लाग्ने मुर्दावादको नाराले पनि स्पष्ट पार्छ ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री ओलीको विरोध गर्नु स्वाभाविकै हो । तर, आमजनताले आफ्नै अभिभावकको विरोधी किन गरिरहेका छन् ? किन मुर्दावादको नारा लगाइरहेका छन् ? यसरी देशकै अभिभावकविरुद्ध मुर्दावादको नारा लाग्नुको अन्तर्य के ? किन यति आक्रोशित छन् आजका युवा ?

जनआपेक्षा अनुरुप काम गर्न नसक्नुः अहिले ओलीविरुद्ध मुर्दावादको नारा लाग्नुको मुख्य कारण जनअपेक्षाअनुरुप काम गर्न नसक्नु नै हो । सरकारको कार्यप्रति सर्वसाधारण असन्तुष्ट छन् । सत्ता साझेदार दलहरूको समेत चित्त बुझेको छैन । जनताले परिणाम खोज्छन्, सरकारले कुनै परिणाम दिन सकेको छैन । नीति, योजना र कार्यान्वयनको खाकाबारे केही बोलेको सुनिँदैन । जताततै नेताका आक्षेपपूर्ण भाषण मात्र छन् ।

देशको कायापलट गर्ने वाचा गरेर सत्तामा पुगेकाहरूले सिन्कोसमेत भाँच्न सकेका छैनन् ! जसले जनतामा असन्तोष बढाएको छ । बेरोजगारको अवस्था विकराल छ । शिक्षाको अवस्था दयनीय छ । कानुनी राज्यको अनुभूति हुन सकेको छैन । भ्रष्टाचार चरम सीमामा पुगेको छ । महँगीले सर्वसाधारणको ढाड भाँचेको छ । सेवा प्रवाहमा देखिएको कमीकमजोरी र व्याप्त अनियमितताले जनतामा निरासा छाएको छ । निरासा चुलिँदै जाँदा जताततै आक्रोश पोखिन थालेको छ । गफ र उखानले देश बन्दैन भन्ने जनताले बुझिसकेका छन् ।

लोकप्रियतावादको मोहः प्रायः सबैलाई लाग्छ– अरूले मेरो गुणगान गाइदिऊन ! तारिफ गरुन । प्रशंसा गरुन ! जयजयकार गरुन ! यसबाट ओली पनि अछुतो छैनन् । उनी आफै ‘लोकप्रियतावादी’ नेता हुन् । त्यसैले आफ्नो गुणगान गाउनेलाई स्वागत र आलोचना गर्नेलाई बहिस्कार गर्छन् । जनताको समस्या बोकेर सिंहदरबार पुगेका साम्पाङहरूलाई भेट दिँदैनन् । तर, अंशु वर्मा, मिस पवि, इभा गिरीजस्ता टिकटकरलाई बालुवाटर बोलाएर स्वागत गर्छन् । त्यसैले आमनागरिकले ओलीलाई मन पराउन छाडेका छन् । र, उनको विरोध गर्ने गरेका छन् ।
तुच्छ बोलीः ‘बोल्यो कि पोल्यो’ भन्ने उखानको चरितार्थ ओलीले गरिरहेका छन् । ओलीका भाषणहरू सुन्दा देशकै प्रधानमन्त्रीले नै बोलिरहेका हुन त ? भन्ने लाग्छ । उनले आफ्नो ओहोदाको समेत ख्याल राख्दैनन् । उनका बोलीमा लिंगभेद, जातिभेद र धार्मिकभेद मिसिएका हुन्छन् । त्यसैले उनी जतिजति बोल्छन्, त्यतित्यति विवादित बन्छन् । ‘थुतुनो’ जोगाउन नसक्दा ओलीका विरोधी बढ्दो छ ।

सधैँ जनता झुक्याउने कामः एमालेको एउटा नारा छ– सुखी नेपाली, समृद्ध नेपाल । उक्त नारा लिएर पहिलोपटक प्रधानमन्त्री बन्दा ओलीले रेल, पानीजहाज, घरघरमा ग्यास, तुइन विस्थापनजस्ता सपना देखाए । तर, त्यो सपनामा मात्रै सीमित रह्यो । चार पटक प्रधानमन्त्री बन्दा पनि उक्त सपना पूरा हुन सकेको छैन । र, हुने सम्भावना पनि छैन । चुनावी घोषणापत्रअनुसार पनि काम भएको छैन । आफ्नो प्रतिबद्धता पूरा गर्न सकेका छैनन् । सधैँ जनता झुक्क्याएका छन्, भेडा गोठालोको कथाजस्तै ।

बहुसंख्यक नेताको वचनमा विश्वसनीयता छैन । नेताहरू आफैले पार्टीका चरित्र एवं अनुशासनमाथि उचित जोड नदिएको स्थितिमा कार्यकर्ताबाट सुन्दर चरित्र अपेक्षा गर्न सकिँदैन । त्यसैले जनताको धैर्यको बाँध फुट्न सुरु भएको छ । त्यसले ल्याउने परिणाम के हुन्छ अहिले नै भन्न सकिन्न ।

यी त प्रधानमन्त्री ओलीविरुद्ध मुर्दावादको नारा लाग्नुको केही कारण हुन् । ओलीविरूद्ध मात्रै होइन, व्यवस्थाविरूद्ध नै मुर्दावादको नारा लाग्न थालेको छ । यसको मुख्य जिम्मेवारी नेताहरू नै हुन् । राजनीतिक वातावरण दूषित बनाउने पनि उनीहरू नै हुन् । त्यागी एवं तपस्वी नेता पनि यस्ता दूषित परिस्थितिको चपेटामा परेका छन् ।

यस्तो स्थितिमा युवामा देखिएको आक्रोशलाई समयमै सम्बोधन गर्न जरुरी छ । आम नागरिकले आक्रोश व्यक्त गरिरहेका बेला सचेत नागरिकका नाताले हामी सबैले एउटा कुराचाहिँ भुल्नुहुँदैन, यो व्यवस्थालाई सुव्यवस्थित बनाउने जिम्मेवारी हाम्रो पनि हो । प्रत्येक सचेत नागरिकको हो ।
अतः सम्पूर्ण राजनीतिक दल पार्टीगत स्वार्थभन्दा माथि उठ्नुपर्ने समय आएको छ । धुमिलिँदै गएको देशको राजनीतिलाई सही ठाउँमा ल्याउन जरुरी छ । त्यसको लागि सबै दलले आ–आफ्नो स्थानबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । सबै दलले आ–आफ्ना स्वार्थ र अडानहरूलाई त्याग्दै असन्तुष्ट पक्षका जायज मागहरूलाई पूरा गर्नुपर्छ । देशलाई समृद्धिको बाटोमा हिँडाउन अब ढिला गर्नु हुँदैन ।

अन्त्यमा फेरि पनि दोहो¥याऊँ, प्रधानमन्त्री आमजनताका अभिभावक हुन् । घर सपार्ने÷बिगार्ने मूली पिता भएजस्तै देश सपार्ने बिगार्ने जिम्मा प्रधानमन्त्रीलाई छ । देश सपारेको जस र बिगारेको अपजस उनैलाई जान्छ । त्यसैले अहिलेको सम्पूर्ण जिम्मा प्रधानमन्त्री ओलीले नै लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्