झापा । पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल स्थानीय जनप्रतिनिधिसहित नागरिकता प्रदान गर्न घर पुग्दा क्षितिज राई बाँसको मुडामा बसिरहेका थिए । एक स्थानबाट अर्को स्थानमा बोकेर सार्नुपर्ने अवस्थाका उहाँका बुवा र आमा घरमा नहुँदा सनाखत गर्न नसकेर नागरिकता प्रमाणपत्र बन्न सकेको थिएन ।
विसं २०६० मा मेचीनगर–३ दोकान डाँडामा जन्मनु भएका उहाँ अपाङ्ग भएको थाहा पाएका दिनदेखि बुबा घरबाटै वेपत्ता भएको र आमा वैदेशिक रोजगारीबाट लामो समयदेखि नफर्किएको क्षितिजका छिमेकी शिक्षक देबु बानियाँले बताए । उनको नागरिकता बनाउन बिगत पाँच वर्षदेखि पहल भइरहेको थियो ।
‘आमा विदेशमा र बाबु वेपत्ता भएपछि मावली हजुरबुवा र हजुरआमाले क्षितिजको हेरचाह गर्दै आउनुभएको थियो’ नागरिकताका लागि पहल गर्नुभएका शिक्षक बानियाँ भन्छन्, ‘हजुरआमाको पनि निधन भएपछि वृद्धावस्थाका हजुरबुबाले कनिकुथी हेरचाह गरिरहनु भएको छ ।’
ढिलै भएपनि नागरिकता बनेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताइन् । नागरिकताको आधारमा अब क्षितिजले सरकारबाट मासिक सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । क्षितिजलाई बिहानदेखि बेलुका सम्म बाँसको मुडामा राख्ने गरिएको छ । उनलाई खानासमेत हजुरबुवा कुमार सुब्बाले मुडामै राखेर खुवाउने गरेका छन् ।
‘नागरिकता उहाँको नैसर्गिक अधिकार हो’ सहायक प्रजिअ नेपालले भने, ‘प्रशासनसम्म आउन नसक्ने सही व्यक्तिको पहिचान गरी स्थानीय जनप्रतिनिधिको सहयोगमा आवश्यक प्रक्रिया पूरा गरी घरमै नागरिकता पु¥याएका हौँ ।’
चालु आर्थिक वर्षमा जिल्लाका चार जना पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता प्रदान गरिएको सहायक प्रजिअ नेपालले बताए । यसरी घरमै नागरिकता प्रमाणपत्र पाउने अरु तीन जना बुद्धशान्ति गाउँपालिका–४ र ५ का छन् । बुद्धशान्ति गाउँपालिका–५ का वडाध्यक्ष डेगेन्द्र कार्कीले पूर्ण अपाङ्गता भएका २२ वर्षीय सौरभ चापागाईंको आफैँले पहल गरेर नागरिकता बनाइदिएको बताए ।