Logo
Logo
महायज्ञका नाममा दलितमाथि ज्यादती

पालिका अध्यक्षका आफन्त र समर्थकको धाकधम्कीपछि डोम परिवार विस्थापित


1.1k
Shares

सिरहा । महायज्ञका नाममा दलित परिवारलाई अछुत भन्दै ज्यादती गरेको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि धाकधम्कीका कारण दीपक मरिक डोमको परिवार विस्थापित भएको छ । पालिका अध्यक्षका आफन्त र समर्थकको धाकधम्कीका कारण डोम परिवार गएरातिदेखि विस्थापित भएको हो ।

विष्णु महायज्ञको नाममा गत फागुन १० गते औरही गाउँपालिका ५ स्थित रहेको दीपकको घर डोजर लगाएर भत्काएको थियो । उक्त घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो । पालिका अध्यक्ष पक्राउ परेपछि उनका आफन्तसहित समर्थकको धाकधम्की र गालीगलोज गरेपछि दीपक मरिक डोमसहित उनका परिवार त्यहाँबाट विस्थापित भएका छन् ।

‘तिमीहरुकै कारणले मेरो बुबा पक्राउ परेको’ भन्दै पालिकाअध्यक्ष शिवजी यादवका छोरासहितका स्थानीयहरु शुक्रबार राति दीपकको घरमा पुगेर गालीगलोज तथा धम्की दिएका थिए । त्यसपछि त्रासको कारण दीपक र अनिता गएराति नै वडानम्बर ४ कोमलपुरमा रहेको दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा शरण लिएका छन् । उनका छोराछोरीहरु औरहीचौकीमा शरण लिएका छन् ।

उनले भने, ‘शुक्रबार साँझ पालिकाअध्यक्ष शिवजी यादव पक्राउ परेपछि उहाँका छोरा रुकेशले केही महिलाहरुसहित आएर धाकधम्की र गालीगलोज गरे । मेरी श्रीमती अनितालाई हिंड्न दबाब दिए । अनुसरक्षित महसुस भएपछि अनिता कवुलीकाकाको घरमा आइन् । म पनि यतै बसेको छु ।’

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्