Logo
Logo
कविता

मेरी आमा


6.9k
Shares

भाँडाकुटी र गट्टा खेल्ने दिनचर्यामा
चर्दै गरेकी नौ वर्षे अवोध बालिका
सिंदुर, पोते, राता वस्त्र र अलंकारमा
कठोर त्यो नव परिवेशमा
आफ्नै सँस्कृतिको मूल सँघारबाट
जबर्जस्ती बाहिर हुत्तिएकी
विचरा ! मेरी आमा कहिल्यै रिसाइनन् ।
एउटै चुलोभित्रका आसेपासे अनि
तिनकै भक्तजनले वर्षाएका
तिखा वचनले
मुटु छिया–छिया बनाउँदा पनि
हिमाल झैं अग्लो धैर्यताको सहारामा
सतिसाल झैं उभिएर
मुसुक्क मुस्कुराइरहिन् ।
तर कहिल्यै रिसाइनन्

बा भन्दा एकै दिनले कान्छी
बा कै गति र रफ्तारमा बढ्दै गएको
जवानीलाई बा कै निमित्त
जवरजस्ती साँचेर राखिदिने उनी
जवानीको रस्वास्वादनबाट
बन्चित हुँदै डर, त्रास र थरिथरिको
यातनाको सिकार हुँदा
बा को जवानीले परस्त्रीको चाहना गर्दा
तिनैको सुराकिमा
आफूमाथि लात्ती बजारिँदा
लामो केश भुत्लिएर छरपस्ट हुँदा
अचेत बनाउँदै हाँसको खोरमा थुनिँदा
पानी छम्किएर होसमा ल्याउँदा
तैपनि अहँ कदापी रिसाइनन्
नमिठो बोली कहिल्यै गरिनन् ।
वा ! कति महान मेरी आमा !

हामी तीन सन्तानलाई जन्मदिँदा
रगतको तालमा पौडिएर
पटक–पटक मरेकी उनी
अझ भनौं मलाई जन्मदिँदा
छोरी जन्माएको आरोपमा
पेटभरि खाएर
सुत्केरीको महशुस गर्न नपाउँदा
रित्तो लाम्टा तान्दै म घरिघरि चिच्याउँदा
माया र स्नेहको छहारीमा
मलाई लुकाउन छाडिनन् ।

आकाश जस्तै पिठ्युमा बोकेर
लेक, बेंसी, मेलापात अनि
घरधन्दामा व्यस्त उनीलाई
पालैसँग भुत्ल्यायौं, चिथर्यौं
लात्ती बजार्यौं मल मुत्रले लेपन गर्यौं
दुध चुसाइरहँदा काखलाई खेल मैदान
र मल उत्सर्जनको थलो बनायौं
तर कहिल्यै आक्रोस पोखिनन् ।

सन्तानको गर्जो टार्न
सुका, मोहर र रूपैयाँ गन्दै भरेको
सुर्केथैली बिना सूचना रित्तो हुँदा
ठेकीको मुखभरि जमेको तरमा
गहिरो खाल्टो हुँदा
हर्पेभरि साँचेको घिउ
बिना सूचना आधा हुँदा
तलाउजस्तै शान्त रहिन्
कहिले आक्रोश पोखिनन्

बाहिरको काममा दिनभरि जोतिएर
गोधुली साँझमा घर फर्किएपछि
भोको पेटलाई थाती राखेर
असरल्यतालाई सम्हाल्दै
बचेखुचेको शक्तिलाई
परिवारकै लागि समर्पण गर्दै
सीम जस्तो चिसो विछ्यौनामा
अनिँदो हुँदै रात काट्न
बानी परेकी उनी
हिमालझैं हाँसिरहिन्
फूलझैं मुस्कुराइरहिन्
ओठको हाँसो कहिल्यै लुकाइनन्
गहमा आँशु कहिल्यै देखाइनन् ।

-सुशीला शर्मा
बाग्मती प्रदेश, भीमेश्वर नगरपालिका–४, दोलखा

प्रतिक्रिया दिनुहोस्