Logo
Logo

बाबुरामको टिप्पणी- राजतन्त्र भूत हो, भूत भ्रम हो


567
Shares

जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राणा र राजाहरूका पालामा अहिलेभन्दा तीनगुणा बढी भ्रष्टाचार हुने गरेको भन्दै बन्द व्यवस्थाका कारण जनतासम्म पुग्न नदिएको बताएका छन् । शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले यस्तो दावी गरेका हुन् ।

‘आजभन्दा तीनगुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालामा हुन्थ्यो’ उनले भने, ‘तर उनीहरू त्यति कुटिल थिए किm तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे ।’ उनले त्यतिबेला आफ्ना गलत अभ्यास लुकाउन नागरिकलाई शिक्षाको अवसरबाटसमेत बञ्चित गर्ने गरिएको बताए ।

पार्टीको प्रथम महाधिवेशनको भाव सम्प्रेषण कार्यक्रमका लागि भट्टराई जनकपुर आएका डा भट्टराईले भने, ‘जनतालाई शिक्षित नै गराइएन । अहिले जनता पढ्न–लेख्न पाएका छन् । केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ, तर त्यस समयमा त आधारभूत शिक्षा पनि सीमित व्यक्तिहरूसम्म मात्र सीमित थियो । राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयमा मात्र शिक्षाको पहुँच थियो ।’

उनले राजतन्त्रलाई भूतको संज्ञा दिँदै भने, ‘राजतन्त्र भूत हो, भूत भ्रम हो । यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना ।’

उनले लोकतन्त्रको रक्षा सबै मिलेर गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, ‘हामी पछाडि फर्किने कुरा हुँदैन । मधेशजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौंदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन्, र तिनलाई छलकपट गर्न अब कठिन छ ।’ अहिलेको लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, आलोचना गर्ने र सरकार छान्ने अवसर दिएको उनले उल्लेख गरे ।

‘अब जनताले नेताहरू छान्ने मात्रै होइन, विकल्पयुक्त सोच भएका नयाँ पुस्ताका सक्षम नेताहरूलाई चयन गर्नुपर्छ’ डा. भट्टरार्इीले भने, ‘राजतन्त्र फिर्ता ल्याएर पञ्चायती शासन चलाउने सपना देख्नेहरू आफैं द्विविधामा छन् र सत्ताको भोकले तिर्खाएका नेताहरूले पनि यो सत्य स्वीकार गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्