Logo
Logo
कला/जम्काभेट

‘गीतको भाव कहिल्यै नमर्ने हुनुपर्छ’


756
Shares

नेपाली गीतसंगीत क्षेत्रमा तिर्थकुमारी थापाको नाम नै काफी छ । गीतसंगीत क्षेत्रकी बरिष्ठ गायिका तिर्थकुमारी अझै संगीत साधना गर्छिन् । करिब ६ दशक गीतसंगीतमै विताइसकेकी तिर्थकुमारी भन्छिन्, ‘संक्रिय गायनबाट त रिटार्यड भइसकेँ, तर साधना गर्न छाडेकी छैन ।’

‘म त खाँदिनँ कुवाको पानी हो’, ‘ढुंगे बगर माया’, ‘झम्के फूली नाकैमा बुलाकी’, ‘माछी मार न हे दाइ हो’, ‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’जस्ता दर्जनौँ कालजयी गीतका गायिका तिर्थकुमारीले बाह्र सयभन्दा बढी गीत गाइसकेकी छन् । उनी नेपाली सांगीतिक क्षेत्रकी एक जिउँदो धरोहर हुन् । नेपाली गीतसंगीतको विकास र श्रीवृद्धिमा उनको ठूलो योगदान छ । गीतसंगीतमा जीवन समर्पण गर्दै यहाँसम्म आइपुगेकी बरिष्ठ गायिका तिर्थकुमारी थापासँग रेजिना पाण्डेको जम्काभेट ?

हिजोआज तपाइँको दैनिकी कसरी बितिरहेको छ ?
खासै बिशेष केही छैन । सक्रिय गीतसंगीतबाट रिटायर्ड भइसकेँ । हिजोआज बिहान भजन गाउँछु, ध्यान गर्छु र साधना गरिरहेकी छु । कतै कार्यक्रम भयो भने फाटपुट छोरासँग जान्छु । धेरै समयचाहिँ घरपरिवारसँगै रमाइरहेकी छु ।

व्यस्त जीवनबाट रिटार्यड भएपछि कतिको गा्रह्रो हुँदोरहेछ ?
गाह्रै हुने रहेछ । पहिले त हप्ताको एक दुईदिनजसो संगीतको काम परिरहेको हुन्थ्यो । सागीतिक माहोल र जम्मघट रहन्थ्यो । फुसदै हुँदैनथ्यो । अहिले त आफन्त माइतीतिर जान्छु । कहिले भजन गाउँछु, घरमा पनि सांगीतिक माहोल छ । परिवार रमाइला छन् । परिवारले दिने खुशी र म हाँस्ने पनि कामै त हो ।

सरकारी जागीर, गीतसंगीत र परिवारलाई मिलाएर यहाँसम्म आउने कतिको गाह्रो थियो ?
समय अनुसार मिलाएर सबै काम गरेँ । धेरै बाधा अड्चनहरु पनि सहे । तर, पनि कहिल्यै लापवाही गरिनँ । संगीतमा पनि इमान्दार रहेँ । जसका कारण धेरैले मनपराउनुभयो । हजारौँ गीत गाएँ । म एक श्रीमती र आमा पनि हुँ । त्यसैले मेरो मुख्य जिम्मेवारी सन्तान थियो । त्यसलाई पनि इमान्दारीपूर्वक निर्वाह गर्दै आएँ । यहाँसम्म आउँदा परिवारको मायाले नै गीतसंगीतमा परिचय बनाएँ । यो नै मेरो सफलता हो ।

तपाइँले गीतसंगीत अँगाल्दैगर्दा अहिलेजस्तो पक्कै सहज थिएन होला ?
हो, अहिले जस्तो त्यतिबेला सहज थिएन । विवाहअगाडि पनि वरिपरीको समाजले धेरै कुरा काट्थे । छोरी मान्छे भएर गाउने, पढ्ने काम गर्ने ? भन्दै गिज्जाउँथे । विवाहपछि अकाम गर्ने क्रममा कहिलेकहीँ घर आउन ढिला हुँदा श्रीमानको गाली नखाएको पनि होइन । तर, मैले मेरो आफनो र कर्तव्यलाई कहिल्यै भुलिनँ । मेरो लागि संगीत, काम र परिवार सबै महत्वपुर्ण देखेर मिलाएर अघि बढेँ ।

तपाइँलाई को सँग गाउँदा रमाइलो र सहज हुन्थ्यो ?
मैले अधिकांश कलाकारसँग गीत गाएँ । तर, मलाई मेरो छोरा सुरजसँग बिभिन्न कार्यक्रममा गाउँदा निकै रमाइलो लाग्छ । र, लाग्थ्यो । उ राम्रो गायकका साथै राम्रो संगीतकार हो ।

तपाइँको गायनप्रतिको रुचि र सुरुवात कसरी भएको थियो ?
मेरो हजुबुवा र बुवा गीत गाउनुहुन्थ्यो । घरमै सांगीतिक माहोल थियो । उहाँहरुले गाएको देखेर गाउँगाउँ लाग्थ्यो । सायद त्यसैको प्रभावमा परेर म त्यतिबेला तारादेवी दिदीको गीतहरु सुन्थेँ, गाउँथेँ । २०२८ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास भएपछि गाउनेक्रम जारी रह्यो । बिस्तारै मेरो गीत सबैले मनपराए । म आफूलाई भाग्यमानी गायिका सम्झन्छु । मैले गाउन थालेपछि रेडियो नेपालमा अनुरोधका धेरै गीत बज्थ्यो ।

गीतसंगीतकै क्रममा बिर्सन नसक्ने केही त्यस्ता क्षण छन् ?
गतबर्ष एकल तिर्थकुमारी स्वर्णिम साझँ भएको थियो । त्योपल निकै रमाइला क्षण थियो । र, स्मरणीय पनि । कार्यक्रम भव्य र सभ्य भएको थियो । मप्रति दर्शक तथा स्रोताको न्यानो माया देखेर दंग भएँ । फेरि त्यस्तै स्वर्णिम साँझ गर्ने मेरो इच्छा छ ।

गाउने क्रममा कठिन र अप्ठ्यो अवस्था आयो कि आएन ?
केही काममा पनि सहज हुँदैन । मैले गायन क्षेत्रमा धेरै संर्घष गरेकी छु । सरकारी नोकरी, घरको काम र परिवारलाई मिलाउनु पर्दथ्यो । भनिन्छ नि, जहाँ ईच्छा त्यहाँ उपाय । यस्तै, मैले कठिनाइका बाजुद पनि गाउन छाडिनँ ।

आजभोलिको गीतसंगीतको अवस्था कस्तो लाग्छ ?
पछिल्लो समय नेपाली गीतसंगीतको अवस्था धेरै राम्रो छ । दिनदिनै नेपाली संगीतमा विकाश भइरहेको छ । नयाँ पुस्ताको अगमन भइरहेको छ । संगीतमा लाग्नेहरुका लागि अहिले धेरै अवसरहरु छन् । म नयाँ पुस्ताको गीत धेरै सुन्छु ।

गीत सुन्न रमाइलो कि गाउन ?
अहिले त सुन्नमै रमाइलो छ । अहिले खासै गाउने रहर लाग्दैन ।

तपाइँ बढी कसको गीत सुन्नुहुन्छ ?
एउटै नाम लिन सक्दिनँ । धेरै कालजयि गीतहरु छन्, जो जति सुन्यो, त्यति नै सुनिरहुँजस्तो लाग्छ । तारादेवी, बच्चु कैलाश, अरुणा लामाका गीतहरु बढी सुन्छु ।

गाउनलाई सजिलो पहिले कि अहिले ?
अहिले सजिलो किनकि, आजभोलि रेकर्डिङ स्टुडियो धेरै छन् । साथै, टेक्निकल कुराले पनि धेरै सहज बनाएको छ । हाम्रो पालामा त्यस्तो थिएन । समय अनुसार धेरै कुराहरुमा परिवर्तन र सहज भएको छ ।

मानिसका लागि गीतसंगीत जरुरी छ ?
मलाई लाग्छ, एकदम जरुरी छ । जुनै भाषाको गीत सुन्नुस । तर, मान्छे गीत सुनेर आन्नद र शान्त हुन्छ ।

अब गाउनुप-यो भने त्यो गीत कस्तो हुनुपर्छ ?
गीतको भाव कहिल्यै नमर्ने हुनुपर्छ । त्यो गीतले प्रेम दिओस्, उर्जा मिलोस् । त्यो गीत बज्दा म बाँचेको अनुभव होस् । म छोरा सुरजसँग नै गाउन चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्