काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहास बनिसकेकाहरूले पुनः टाउको उठाउने कोशिस गरिरहेको भन्दै त्यो सम्भव नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले आफू जीवित रहँदासम्म नेपालमा पुनः राजतन्त्र फर्काउने सपना पूरा गर्न नदिने बताएका छन् ।

आज (शनिबार) चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारमा रहेका दलहरूको कामकै कारण इतिहास बनिसकेकाहरूले टाउको उठाउने प्रयास गरेको जिकिर गरे ।
‘यो सरकारका कारणले इतिहासका कुडाकर्कटमा गइसकेकाहरू पनि टाउको उठाउने दुस्साहस गरिरहेका छन् । यद्यपि त्यो टाउको धेरै उठ्नेवाला छैन,’ प्रचण्डले भने । उनले आगामी चैत १५ गतेसम्म पुग्दा नपुग्दै त्यो सकिने दाबी गरे। ‘आउने १५ गतेसम्म पुग्दा नपुग्दै त्यो त सकिनै हाल्छ,’ प्रचण्डले भनेका छन् ।
समाजवादी मोर्चामा सहभागी दलहरूले आगामी १५ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ । अध्यक्ष प्रचण्डले पछिल्लो पटक आफूहरू जनतासँगको अभियानमा लाग्दा छुट्टै खुशी मिलेको बताएका छन् । ‘काठमाडौंमा फटाहासँग बसेर काम न काजका कुरा गर्दाको थकान र जनतासँग बसेर खाँदा पाउने खुशी यहाँ अनुभूत गर्यौं,’ प्रचण्डले भनेका छन् ।