Logo
Logo

पूर्वराजादेखि सबैभन्दा बढी त्रसित ओली ! 


12.7k
Shares

काठमाडौं । गणतन्त्रवादी र राजावादी आमनेसामने हुँदा राजनीतिक वृत्त तातेको छ । सडकदेखि सदनसम्म  यसको पक्ष र विपक्षमा बहस जारी छ ।

संवैधानिक राजसंस्था, संघीयता खारेजीसहितका माग गर्दै राजावादीले सदनदेखि सडकसम्म तताइरहेका छन् । राजसंस्थाका लागि आन्दोलन जारी रहेकै बेला वर्तमान संविधान र गणतन्त्रको रक्षाका लागि भन्दै संसद्मा रहेका ठूला दलहरू पनि सडक आन्दोलनमा उत्रिँदै छन् । 

राजावादीहरू व्यवस्था नै परिवर्तन गर्ने उद्घोषसहित आन्दोलनमा उत्रिएपछि काउन्टर स्वरूप सत्तारुढ दल नेकपा एमालेले सडकमा उत्रिने घोषणा गरेको छ ।

एमालेले गणतन्त्रका पक्षमा २० दिने जनप्रदर्शन र विशेष सभा गर्ने जनाएको छ । ११ चैतबाट सुरु हुने सचेतना अभियान ३० चैतसम्म चल्नेछ । राजावादी समूहले राजतन्त्र पुनर्स्थापनाका लागि प्रतिगामी प्रयास गरिरहेकाले जनतालाई सचेत पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यले अभियान घोषणा गरिएको एमालेले जनाएको छ । 

त्यसो त राजावादीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली बढी नै त्रसित देखिन्छन् । जुन कुराको पुष्टि केही समयता ओलीले दिएको अभिव्यक्तिले नै पुष्टि गर्छ । गत फागुन  २२ गते महोत्तरी पुगेर ओली पूर्वराजा शाहलाई दल खोलेर निर्वाचन लड्न चुनौती दिएका थिए । 

उनले भनेका थिए– ‘लोकप्रिय हुनुहुन्छ भने ठिक छ, संविधानअनुसार चुनाव लड्न आउनुस् न । तपाईँलाई जहाँसुकै चुनाव लड्न खुला छँदैछ नि । आउनुस्, चुनाव लड्नुस्, पार्टी खोल्नुस् । खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न । एउटा घोस्ट भन्छ नि‘ छायाँ अगाडि सारेर होइन, आफूलाई अगाडि सार्नुस् न । अनि अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो‘ यसोयसो पनि गर्ने, अप्ठेरो पर्‍यो भनेर फुत्त तानेर कछुवा तालले टाउको लुकाउने ?’

यसरी चुनाव लड्न चुनौती दिएको ओलीले त्यसको एक सता पछि अर्थात् फागुन २७ गते कोशी प्रदेशसभामा सम्बोधन गर्दै पूर्वराजा शाहको अराजक क्रियाकलापले देश अप्ठ्यारोमा परेको बताए ।

‘संविधान र कानुन नमान्ने प्रवृत्ति बढ्दै गएको छ। म पूर्वराजाको सम्बोधन सुनेर छक्क परेँ,’ ओलीले भने, ‘म आउँछु, देश बचाउँछु रे ! देश के भाको छ र बचाउन रु उहाँहरूले यस्ता अस्थिर गतिविधि गरेर देशलाई अप्ठ्यारोमा पार्दैहुनुहन्छ।’

त्यस्तै चैत्र तीन गते लोकतन्त्र हाइवे भएको र हाइवेमा ब्याक गेयर नलाग्ने दाबी गरे । गत आइतबार  नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन उनले भने–  ‘डेमोक्रेसी भनेको हाइवे हो । हाइवेमा ब्याक गेयर लगाइँदैन । डेमोक्रेसी इज अ हाइ वे । यसमा ब्याक गेयर लगाइँदैन, अघि बढिन्छ । 

त्यसको चार दिनपछि ओलीले दरबार हत्याकाण्डसँगै सत्ता हत्याउने काम गरेको भन्दै पूर्वराजा शाह लक्षित टिप्पणी गरे । 

‘हेर्दाहेर्दै दरबार हत्याकाण्ड जस्ता काण्डहरू भए, सत्ता हत्याउने काम भए । सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने काम भए । यो भन्दा बढी व्याख्या गर्नु परेन,’ ओलीले भने, ‘लोकतन्त्र कहाँ बच्यो रु ती दिन नदेखेका मान्छे, त्यस जमानामा नजन्मिएको मान्छे अहिले यो भएन, त्यो भएन, तानासाही भयो, अधिनायकवाद भयो भन्छन् । अधिनायकवाद भन्नेकुरा भेगेकै छैनन् । हामी लोकतान्त्रिक प्रणालीमा छौँ, यसमाथि धावा बोल्ने ?’

यी अभिव्यक्तिहरूले पूर्वराजा र राजावादीहरूको सक्रियता ओली त्रसित भएको प्रस्ट पार्छ । पूर्वराजा शाहकै चाहनामा राजसंस्था पुनर्स्थापनाको लागि पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएपछि ओली बढी आत्तिएका हुन् । 

उक्त समितिमा पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, मेडिकल व्यवसायी दुर्गा प्रसाईँ, अस्मिता भण्डारी, हरिबहादुर बस्नेत, केशवबहादुर विष्ट र रमा सिंह राखिएको छ ।

यसमध्ये लिङ्देन, थापा र विष्टले उक्त समितिमा आफू नबस्ने घोषणा गरिसकेका छन् । तर, समितिमा अहिले जो–जो छन् उनीहरू पूर्वराजा शाहको विश्वासिलो पात्र मानिन्छन् ।

यति मात्रै नभई उनीहरू भारतमा कट्टर हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) निकट बताइन्छ । आरएसएसलाई  भारतीय जनता पार्टीको भातृ संगठनकै रुपमा लिने गरिन्छ । 

 गत माघको पहिलो साता पूर्वराजा शाह भारत भ्रमणमा जाँदा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता समेत गरेका थिए । योगी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्तै ठूला विश्वासपात्र हुन् ।

 भारतको उदयीमान नेता र भावी प्रधानमन्त्रीको रुपमा कहलिएका आदित्यनाथसँग पूर्वराजा शाहको तारनतारको भेट र अहिले पनि भारत निकट व्यक्तिहरूलाई राखेर जनआन्दोलनको घोषण भएपछि गणतन्त्रवादी नेताहरू झनै त्रसित भएका छन् । 

एमालेले मात्रै नभई चार दलीय समाजवादी मोर्चाले पनि आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । १५ चैतमा एकैदिन समाजवादी मोर्चा र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले काठमाडौँमा प्रदर्शन गर्ने घोषणा गरेका छन् । जसले दुई पक्षबीचमा मुठभेडको खतरा समेत बढ्दै गएको छ । यसले गर्दा गणतन्त्रवादी र राजावादीबीचको टकराव तत्काल कम हुने छाँटकाँट देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्