
काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन आजबाट सुरु हुँदैछ । विराटनगरमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले महासचिव शंखर पोखरेलले गर्नेछन् ।
यसअघि चौतारीको महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी थियाे । तर, चौतारीको भावी नेतृत्वका लागि देखिएको विवादका कारण ओली नआउने भएपछि महासचिव पोखरेलले उद्घाटन गर्ने भएका हुन् । महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि विराटनगर पुगेका छन् ।
चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् । एमाले अध्यक्ष ओलीले यसअघि चौतारीका उपाध्यक्ष रहेका राजेश राईलाई अध्यक्ष बनाउनेगरि पाण्डेलाई पार्टीको प्रचार विभागको सचिव बनाएका थिए ।
पाण्डेले भने आफू अध्यक्षबाट पछि नहट्ने भन्दै प्रचार विभागको सचिवबाट राजीनामा दिइसकेका छन् । राई एमालेमा १० बुँदे पक्षधर हुन् । त्यही भएर उनलाई अध्यक्ष बन्न नदिन बढेको लबिइङपछि ओलीले पाण्डेलाई नै अध्यक्ष बनाउन निर्देशन दिएको चौतारीका नेताहरूले बताएका छन् ।
दुई जनालाई अध्यक्ष बनाउन फरक–फरक समयमा अध्यक्ष ओलीले नै ‘वचन’ दिएका कारण चौतारीमा विवाद देखिन्छ । पार्टीका नेताहरूले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउँदै आएका छन् । तर, राईले भने लोकतान्त्रिक प्रतिस्पर्धा हुनुपर्ने अडान राखेका छन् ।